September 19, 2021, Sunday
३ आश्विन २०७८, आईतवार

एमाले कार्यदलको वार्ता शुरू- आज सहमति हुन सक्ने

नेकपा एमालेको कार्यदलबीच वार्ता शुरू भएको छ ।

Advertisement

माधव नेपाल पक्षका कार्यदल संयोजक भीम रावल आउन ढिलाइ भएको कारण कार्यदलको बैठक आधा घण्टा ढिला भएको हो । यसअघि बिहीबार साढे ११ बजे सिंहदरबारस्थित अर्थमन्त्रालयमा कार्यदलको बैठक बस्ने भनिएको थियो ।

बैठक शुरू हुनुअघि भीम रावल नेता माधव नेपाल भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए । वार्तामा आफ्नो पक्षबाट प्रस्तुत हुनेबारे रणनीतिको लागि छलफल गर्न रावलले नेपाललाई भेटेको बताइएको छ ।

रावल सिंहदरवार फर्केलगत्तै अहिले वार्ता जारी छ । कार्यदलको बैठकअघि कार्यदल सदस्य विष्णु पौडेल र भीम रावलबीच २ घण्टा छलफल भएको हो । दुई नेताको छलफलमा लुम्बिनीका मुख्यमन्त्री समेत रहेका ओली पक्षीय नेता शंकर पोखरेल समेत सहभागी भएका थिए ।

उनले बुधबार साझ ओली र नेपालबीच पार्टी एकताबारे कुरा नमिलेको भनेर हल्ला फिँजाइएपनि कार्यदलमा आज सहमति हुन सक्ने बताए । सहमति जुटाउने प्रयासको स्प्रीड नघटेको भन्दै हल्लाको कुनै अर्थ नरहेको संयोजक सुवासचन्द्र नेम्वाङको भनाइ छ ।

‘हल्लाको अर्थ छैन, आज सहमति हुन सक्छ । हिजो नेताबीचको कुरा नमिलेको भनेर हल्ला फिँजाइए पनि त्यसको कुनै अर्थ छैन । हाम्रो सहमति जुटाउने प्रयासको स्प्रीड घटेको छैन,’ उनले भने ।

मेरियट होटल वार्तामा ओलीले नेपाललाई निःशर्त सहयोगका लागि आग्रह गरेका थिए । नेता नेपाल भने सांगठनिक रुपमै शक्ति बाँडफाँड गरेर जानुपर्ने पक्षमा उभिएका थिए । उनले आउँदो महाधिवेशन र निर्वाचनलाई समेत ध्यान दिएर शक्ति बाँडफाँड कुरा गर्दा ओली सकारात्मक नभएको बुझिएको छ ।