८ महिनाको अवधिमा प्रत्येक नेपालीको टाउकोमा ५ हजार रुपैयाँ ऋण थपियो

८ महिनाको अवधिमा प्रत्येक नेपालीको टाउकोमा ५ हजार रुपैयाँ ऋण थपियो

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को ८ महिनाको अवधिमा प्रत्येक नेपालीको टाउकोमा ५ हजार रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सरकारले चालु आर्थिक वर्षको ८ महिना (साउन–फागुनसम्म) को अवधिमा कुल १ खर्ब ९२ अर्ब ४२ करोड ४४ लाख रुपैयाँ सार्वजनिक ऋण लिएको हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधिमा सार्वजनिक ऋणको सावाँ र व्याज भुक्तानीमा ३८ अर्ब ७१ करोड रुपैयाँ खर्च भएको छ ।

यसआधारमा हेर्दा चालु आवको पहिलो ८ महिनामा खुद सार्वजनिक ऋण थप १ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ भएको छ । यो ऋणलाई प्रत्येक नेपालीको टाउकोमा भाग लगाउँदा ५ हजार रुपैयाँ सार्वजनिक ऋण थप भएको हो । नेपालको जनसंख्या ३ करोड मान्दा यसअवधिमा प्रत्येक नेपालीको टाउकोमा उक्त परिमाण बराबरको ऋण थप भएको हो । वर्तमान सरकार आएसँगै आर्थिक स्रोतको महत्वपूर्ण माध्यमका रुपमा सार्वजनिक ऋण परिचालन भएको देखिएको छ ।

१५ खर्ब ७३ अर्ब रुपैयाँ सार्वजनिक ऋण

अर्थ मन्त्रालयको तथ्यांक अनुसार २०७७ असार मसान्तसम्म खुद तिर्न सार्वजनिक ऋण १४ खर्ब १९ अर्ब ८८ करोड रहेको थियो । चालु आवको ८ महिनाको अवधिमा १ खर्ब ५३ अर्ब ऋण थपिएसँगै अब नेपालको खुद सार्वजनिक ऋण भने १५ खर्ब ७३ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।

यो ऋणलाई जनसंख्याको अनुपातमा हिसाब गर्दा प्रतिव्यक्ति ऋण ५२ हजार ४ सय ५२ रुपैयाँ पुगेको छ । सरकारले असार मसान्तसम्म आन्तरिक ऋण ६ खर्ब १३ अर्ब ७४ करोड लिएकोमा चालु आवको ८ महिनामा १ खर्ब १२ अर्ब ५१ करोड रुपैयाँ ऋण लिएको छ ।

८ महिनामा आन्तरिक ऋणको सावा फिर्ता भुक्तानीमा ८ अर्ब २२ करोड र ब्याज भुक्तानीमा १५ अर्ब ८ करोड रुपैयाँ खर्च भएको छ । असार मसान्तसम्म बाह्य ऋण ८ खर्ब ६ अर्ब १४ करोड रुपैयाँ रहेकोमा ८ महिनाको अवधिमा ७९ अर्ब ९० करोड ९१ लाख रुपैयाँ बाह्य ऋण थपिएको छ । यस अवधिमा वैदेशिक ऋण फिर्ता १२ अर्ब ५ करोड र ब्याज भुक्तानीमा ३ अर्ब ४८ करोड रुपैयाँ भएको छ ।

Facebook Comments Box
Share This
  • 116
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    116
    Shares