सरकारलाई काम गर्न दिइएन- प्रधानमन्त्री ओली

सरकारलाई काम गर्न दिइएन- प्रधानमन्त्री ओली

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् तानातानको थलो बनेको र सरकारलाई काम गर्न नदिइएको बताएका छन्। प्रधानमन्त्री ओलीले शुक्रबार मेलम्ची खानेपानी आयोजनाको पानी वितरणका लागि आयोजित औपचारिक समारोहमार्फत् यस्तो आरोप लगाएका हुन्।

‘संसद् पुन:स्थापना भयो, पुन:स्थापित संसद्ले न काम अगाडि बढाउन सक्छ, न केही गर्न सक्छ। अहिले यो तानातानको थलो भएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘केही बलिया व्यक्तिको तानातानको थलो संसद्लाई बनाउने होइन। संसद् जनताका समस्याको छलफल गर्ने थलो हुनुपर्छ।’तर, संसद् भने सरकारले विजनेस नदिँदा कामविहीन बनेको टिप्पणी भइरहेको छ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विभटन गर्ने आफ्नो कदमको विरोध गर्नेहरूप्रति पनि आक्रोश पोखे। ‘प्रतिगमन भनेर खुबै चर्चा गरियो। कहाँ भयो प्रतिगमन? प्रतिगमन भनेको ख्यालठट्टा हो?’, उनले प्रश्न गरे, ‘कोही प्रधानमन्त्री हुन नपाउँदैमा प्रतिगमन हुन्छ?’
उनले सरकारलाई काम गर्न दिइएन भनेर आफूले पहिले पनि भनेको उल्लेख गर्दै भने, ‘म फेरि भन्छु, अहिले पनि काम गर्न दिइएको छैन।’

गोपालप्रसाद रिमालको ‘ढुंगाको काप फोरेर पनि उम्रन्छ पीपल’ कविता उद्धृत गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामी सँधै अन्योल र अस्थिरतामा रुमल्लिइरहने कुरा हुन सक्दैन। हामी विकासको बाटोबाट अगाडि बढ्छौं।’प्रधानमन्त्री ओलीले व्यक्तिगत आकांक्षा र असन्तुष्टिका कुरालाई प्रतिगमन भनेर आक्षेप लगाइएको दाबी गरे।

प्रधानमन्त्री ओलीले सरकारबाट खानेपानी सेवा नपाएका उपभोक्ताले पनि शुल्क र जरिवाना तिर्नुपर्ने अवस्था अन्त्य गरिने बताएका छन् ।मेलम्ची खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यसका लागि आफूले सम्बन्धित निकायलाई निर्देशन दिने बताए ।

कार्यक्रममा उपस्थित भएका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पानी प्रयोग नै नगरेका काठमाडौंका घरधनीले पनि शुल्क तिर्नुपरेको बताएका थिए । उनले भने, ‘यो कुरा सुन्दा अचम्ममा परेको छु । सेवा प्राप्त नगरिकन शुल्क तिर्नुपर्ने हुनै सक्दैन । यसलाई सच्याइने छ । म सबै निकायलाई भन्न चाहन्छु । सेवा नदिइ सेवा शुल्क लिन मिल्दैन । त्यसमाथि जरिवाना गर्न झन् मिल्दैन । सरकारले कमजोरी क्षमायाचना गर्नुपर्नेमा दण्डित गर्ने कुरा किमार्थ उचित हुँदैन ।’

Facebook Comments Box
Share This
  • 243
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    243
    Shares