लोकतन्त्रमाथि अनिष्ट हुने खतरा खतरा बढ्यो: रामचन्द्र पौडेल
चितवन। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले देश, लोकतन्त्रलाई जोखिममा पार्ने तथा पहिचान र संस्कार मेटाउने काम भएको बताएका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य स्व नवीन्द्रराज जोशीको सातौँ दिनको पुण्यतिथिमा देवघाटमा बिहीबार आयोजित अस्तु विसर्जन एवं श्रद्धाञ्जलि समारोहलाई सम्बोधन गर्दै उनले अहिलेको अनिश्चितताको कालो बादलका कारण देश कहाँ जान्छ भन्ने भन्न नसकिने अवस्थामा पुगेको धारणा व्यक्त गरे । उनले थपे, ‘देशमा अहिले अनिर्णयको कालो बादल छाइरहेको छ । लोकतन्त्रमाथि अनिष्ट हुने खतरा छ ।”
अहिले सबैतिर चिन्ता छाएको हुनाले सबै सजग भएर विखण्डनको धारणा राख्नेलाई विकल्प दिनुपर्ने उनको जिकिर थियो । अहिले देशमा जोशी जस्ता योग्य र इमान्दार नेताको खाँचो रहेको नेता पौडेलले बताए ।
उनले थपे, ‘जोशी एक योग्य र इमान्दार नेता थिए । अब यस्ता नेताको पूर्ति कसरी गर्ने ।” कांग्रेसले एक कुशल नेता गुमाउनु परेकामा दुःख लागेको नेता पौडेलले बताए । नेता जोशीले देश र जनतालाई आफूभन्दा माथि राख्दै काम गरेको बताउँदै उनले जोशीको समर्पणलाई पूरा गर्नु कांग्रेसको जिम्मेवारी रहेको बताए ।