पोखरामा समानान्तर कमिटी गठन गर्दै माधव नेपालले भने- ओलीलाई हटाएर केन्द्रमा नयाँ कमिटी गठन गर्छौ

पोखरामा समानान्तर कमिटी गठन गर्दै माधव नेपालले भने- ओलीलाई हटाएर केन्द्रमा नयाँ कमिटी गठन गर्छौ

कास्की । नेकपा एमालेका नेता माधवकुमार नेपालले अब चाँडै केन्द्रमा पनि केपी ओलीलाई अध्यक्षबाट हटाएर नयाँ कमिटी गठन हुने घोषणा गरेका छन् । बिहिबार पोखरामा आयोजित कास्की जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले केन्द्रीय कमिटीबाट केपी ओलीलाई हटाएर नयाँ कमिटी बनाउने घोषणा गरेका हुन् ।

कास्की जिल्लामा आफू पक्षीय कमिटीको घोषणा गर्दै नेपालले अब चाँडै केन्द्रको पनि घोषणा गर्ने बताए । नेपालले भने, ‘अब चाँडै केन्द्रको पनि घोषणा गर्नेछौं । जिल्लामा सबै संगठित हुनुहोस् । कमिटी बैठकहरू अब नियमित गर्नुहोस् । हामी सबै ठाउँमा संगठित भएर केन्द्रमा पनि घोषणा गर्छौं ।’

उनले भने ‘भोलि गाउँपालिकाको चुनाव भयो भने हामी दिन्छौं टिकट । प्रदेशसभाको सदस्य बनाउन हामी चयन गर्छौ, उम्मेदवार । राष्ट्रियसभा र प्रतिनिधिसभाको चुनावको टिकट पनि हामी दिन्छौं,’ उनले अघि भने, ‘घोषणा गरुन् त चुनाव, हामी अरुसँग सिटको तालमेल गर्छौं, सबैलाई मिलाएर लान्छौं ।’ यसका लागि मोहन वैद्यदेखि मोहनविक्रम सिंहसम्म सबैसँग कुराकानी भएको उनले बताए ।

नेता नेपालले धेरै युवाको साथ आफूलाई आइसकेको भन्दै खुट्टा कमाएर नभाग्ने र केपी ओलीको कारबाहीबाट नडग्ने बताए । ८ लाखमध्ये ६ लाख कार्यकर्ता आफूहरुसँग रहेको भन्दै उनले भने, ‘हिम्मत छ भने कारबाही गरे हुन्छ ।’ नेपालसँगै अर्का नेता सुरेन्द्र पाण्डे पनि कास्की पुगेका छन् ।

यसैबीच नेता नेपालले कास्की जिल्लास्तरीय समानान्तर कमिटी बनाएका छन्। धनराज आचार्यको नेतृत्वमा गठन भएको समितिमार्फत उनले त्यहीँबाट समानान्तर कमिटी गठन अभियान सुरु भएको घोषणा गरे । ७५ सदस्यीय जिल्ला कमिटीका बाँकी सदस्यसहित सिंगो टिम घोषणा गरिएको नेताहरुले बताएका छन् ।

यसअघि नेपाल समूहले युवा संघ, महिला संघ र अनेरास्ववियुको पनि समानान्तर कमिटी बनाइसकेका छन्। युवा संघ काठमाडौंको बुद्धनगरमा समानान्तर कार्यालयसमेत खोलिसकेको छ।कास्कीमा जिल्ला कमिटीदेखि सबै जनप्रतिनिधिहरु संस्थापन पक्षमा छन् ।नेपालले आफ्नो समूह कमजोर रहेको जिल्लाबाट समानान्तर कमिटी थालेका हुन् ।

Facebook Comments Box
Share This
  • 528
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    528
    Shares