प्रचण्डको पुनरावलोकन निवेदन पेशीमा चढ्यो, प्रधानन्यायाधीशले आफै हेर्ने

प्रचण्डको पुनरावलोकन निवेदन पेशीमा चढ्यो, प्रधानन्यायाधीशले आफै हेर्ने

काठमाडौं । नेकपाको दर्ता खारेज गर्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि माओवादी अध्यक्ष प्रचण्डले दर्ता गरेको रिट विहीबार पेशीमा चढेको छ । यो मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको पूर्ण इजलासमा चढेको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले एमाले र माओवादी केन्द्रको एकता बदर गर्ने फैसला गरेपछि गत मंगलबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनरावलोकनको निवेदन दिएका थिए । एमाले र माओवादीलाई अलग गरिदिने फैसला गरेर सर्वोच्च अदालतले संवैधानिक र कानूनी जिम्मेवारीको सीमा नाघेको माओवादी केन्द्रको टिप्पणी छ ।

सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता बदर गरिदिएको थियो । एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको थियो । त्यसलाई निर्वाचन आयोगले २०७५ सालमा दर्ता गरेर मान्यता दिएको थियो । तर पहिल्यै आफ्नो नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता भएको भन्दै अध्यक्ष ऋषि कट्टेल निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालत गएका थिए ।

उक्त निवेदनमाथि सर्वोच्चले विहीबार तीन सदस्यीय पूर्ण इजलास गठन गरी पेसी तोकेको हो । प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासमा हुने बहसले मागबमोजिम पुनरावलोकनका लागि स्वीकृति दिने–नदिने निर्णय गर्नेछ ।

Facebook Comments Box
Share This
  • 115
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    115
    Shares