कर्णालीमा माओवादी केन्द्रको सरकार धरापमा

कर्णालीमा माओवादी केन्द्रको सरकार धरापमा

सुर्खेत । कर्णालीमा एमाले र माओवादी केन्द्रले प्रदेश सभा संसदीय दलको बैठक बोलाएका छन् ।एमालेले चैत २२ गते र माओवादी केन्द्रले २१ गते बैठक बोलाएका हुन । एमालेले समर्थन फिर्ता लिएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही अप्ठ्यारोमा परेका छन्।

नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका मुख्यमन्त्री शाहीले अब प्रदेश सभा बैठकबाट विश्वासको मत लिनुपर्ने देखिएको छ।यस्तै संकेत गर्दै प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मंगलबार मुख्यमन्त्री शाहीलाई पत्र पठाएर ध्यानाकर्षण गरिसकेका छन्।

माओवादी केन्द्र संसदीय दलको बैठक मा विधान पारित, मुख्यमन्त्री शाहीविरुद्ध परेको अविश्वास प्रस्ताव र दलभित्रको नयाँ जिम्मेवारीबारे छलफल हुने एक नेताले बताए। यद्यपि, मुख्यमन्त्री शाहीले भने आफ्नो सरकार अझै बहुमतकै भएको दाबी गरिरहेका छन् ।

एमालेको माधव नेपाल समूहका नौ जना र नेकपा माओवादी केन्द्रका १३ जना गरी २२ जना सांसदको सर्मथन कायमै रहेको मुख्यमन्त्री शाहीको दावी छ ।

कर्णाली प्रदेशसभामा सभामुखसहित एमालेको २० सीट छ । एमालेको संसदीय दल बैठकमा माधव नेपाल पक्षधर सांसदले पनि दलकै निर्णय मानेर अघि बढ्ने बताइसकेका छन् । संविधानको धारा १८८ को २ अनुसार सरकारमा रहेको दल विभानजन भए वा समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभामा प्रस्ताव गर्नुपर्छ भन्ने उल्लेख छ।

अब सरकार बचाउन मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत लिनुपर्छ । प्रदेशसभाको बहुमत सदस्यले विश्वासको मत दिएमा मात्र उनको सरकार कायम रहन्छ । कर्णालीमा सरकार बनाउन २१ जना सांसद चाहिन्छ। नेकपा एमालेमा २० जना सांसद छन्। उसलाई सरकार बनाउन अर्को कुनै एक दलले समर्थन गर्नुपर्छ।

यहाँ माओवादीका १३ सांसद छन्। नेपाली कांग्रेसका ६ र राप्रपाका एक सांसद छन् । माओवादी केन्द्रबाट संसद रहेका धर्मराज रेग्मी एमालेमा प्रवेश गरिसकेका छन् । साथै २२ गते बोलाएको संसदीय दलको बैठकमा सबै सांसदलाई उपस्थित हुन सूचना गरिएको एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले जानकारी दिए । बैठकमा सरकार गठनबारे छलफल हुने उनको भनाइ छ ।

Facebook Comments Box
Share This
  • 263
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    263
    Shares