ओलीले २३ चैतभित्र संसदबाट विश्वासको मत लिनु पर्छ- माओवादी केन्द्र

ओलीले २३ चैतभित्र संसदबाट विश्वासको मत लिनु पर्छ- माओवादी केन्द्र

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ चैतभित्र संसदबाट विश्वासको मत लिनुपर्ने दाबी नेकपा माओवादी केन्द्रले गरेको छ ।सरकारलाई दिएको सर्मथन अहिलेसम्म पनि फिर्ता नलिएको नेकपा माओवादी केन्द्रले सरकारको ‘संवैधानिक हैसियत’ बारे प्रश्न उठाएको छ।

नभए सरकारको वैधानिकतामाथि नै प्रश्न उठ्ने माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बताए ।बुधबारको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै नेता गुरुङले सरकारमाथि संवैधानिक प्रश्न उठिरहेको र सरकारका गतिविधिहरु संविधानको स्पिरिट विपरित रहेको धारणा राखेका हुन् ।

‘वर्तमान सरकार नै विधिको शासन विपरित चलिरहेको छ । यो सरकारमाथि संवैधानिक र कानुनी प्रश्न उठेको छ’, गुरुङले भने, ‘सर्वोच्च अदालतले एउटा फैसला गर्यो । त्यो फैसलाले दल विभाजनको फैसला गरेको छ । दल विभाजन भएको अवस्थामा सरकार के हुने भन्ने अवस्था छ ।’

बैठकमा माओवादी प्रमुख सचेतक गुरुङले सर्वोच्च अदालतको संवैधानिक इजलासले ११ फागुनमा वर्तमान सरकारलाई ७६(१) अनुसार भने पनि २३ फागुनको फैसलाले ७६ (२) आकर्षित भएको बताए । उनले भने, ‘सर्वोच्चको फैसलाले दल विभाजन गरेको छ। दल विभाजन भएको अवस्थामा संविधानको धारा १०० (२) आकर्षित हुनेछ ।’

उनले दल विभाजन भएको भन्दै सरकारले विश्वासको मत लिनुपर्ने भन्दै त्यो समय चैत २३ सम्ममात्रै रहेको बताए। ‘सरकारले दल विभाजन भएपछि विश्वासको मत लिनुपर्छ,’ गुरुङले भने, ‘२३ गते त्यसको ३० दिन पुग्छ । चैत २३ गते भित्र विश्वासको मत नलिए सरकारको हैसियत के हुन्छ भन्ने प्रश्न उठ्छ ।’धारा १०० को उपधारा २ मा सत्तारुढ दल विभाजित भएमा वा सरकारमा भएको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

गुरुङले भने, ‘आज १८ गते भइसक्यो । २३ गते ३० दिन पुग्दैछ । ३० दिनभित्र विश्वासको मत लियो भने वैधानिकता हासिल हुनसक्छ। अन्यथा सरकारको संवैधानिक हैसियत के हुने हो भन्ने प्रश्‍न उठ्ने देखिन्छ ।’संसद विघटन गरेपछि सरकार स्वतः काम चलाउ हुने तर्क गर्दै उनले अहिले पनि सरकार काम चलाउ नै रहेको दावी गरे। गुरुङले भने, ‘सर्वोच्चले संसदको पुन:स्थापना गरेको हो, काम चलाउ सरकारको पुन:स्थापना गरेको होइन । सरकार अहिले पनि काम चलाउ हो ।’

Facebook Comments Box
Share This
  • 1.5K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.5K
    Shares