बंगलादेशमा किन भयो मोदीको विरोध ?

बंगलादेशमा किन भयो मोदीको विरोध ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको विरोध गर्दै राजधानी ढाकालगायत स्थनमा हिंसात्मक झडपहरू भए । स्थानीय सञ्चारमाध्यमका अनुसार शुक्रबार, शनिबार र आइतबार भएका झडपमा कम्तीमा १३ जनाको ज्यान गएको छ ।

झडपमा ३५ प्रहरीसहित ५५ जना घाइते भएका जनाइएको छ । तीमध्ये केही पत्रकारसमेत छन् ।

बंगलादेशको ५० औं स्वतन्त्रता दिवसका पाहुनाका रूपमा मोदी ढाका पुगेका थिए । मोदी आफ्नो भ्रमण पूरा गरेर स्वेदश फर्किसकेको भए पनि त्यसको झड्का भने बंगलादेशमा कायमै देखिन्छ । मोदीले भारतमा मुस्लिम समुदायप्रति विभेदकारी नीति अवलम्बन गरेको तथा सामुदयिक हिंसा मच्चाएको आरोप लगाउँदै बंगलादेशमा उनको व्यापक विरोध गरिएको हो ।

मोदीको विरोधमा गरिएको प्रदर्शनको नेतृत्व धार्मिक कट्टरवादी समूह हिफाजत–ए–इस्लामले गरेको हो । स्थानीय प्रहरी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले त्यस्ता विरोध प्रदर्शनमा ३ हजारभन्दा बढी सहभागी भएको उल्लेख गरेको छ । त्यसका साथै विद्यार्थी, वामपन्थीलगायत पनि मोदीको विरोधमा गरिएका प्रदर्शनमा सहभागी भएका थिए । देशव्यापी सञ्जाल रहेको समूहले यसअघि बंगलादेश सरकारले ल्याएको ईश्वरनिन्दासम्बन्धी कानुनको विरोधमा व्यापक प्रदर्शन गरेको थियो ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतीय समकक्षी मोदीको प्रशंसा गर्दै गरिबी निवारणका लागि आफ्नो दशक लामो योजनाका प्रमुख सहयोगी भएको बताउने गरेकी छन् । ‘यदि हामीले हातमा हात मिलायौं भने हाम्रा जनताको विकास निश्चित छ,’ उनको भनाइ छ ।

तर बंगलादेशी र मुस्लिम आप्रवासीलाई भारतबाट लखेट्ने नीतिअनुसार मोदी सरकारले नयाँ कानुनहरू ल्याएको हिफाजत–ए–इस्लाम लगायतका समूहको आरोप छ । राष्ट्रिय नागरिकता रजिस्टर (एनआरसी) र नागरिक संशोधन विधेयक (सीएए) अल्पसंख्यक भारतीय मुस्लिमविरुद्ध विभेदकारी रहेको मुस्लिम संगठनहरूको आरोप छ ।

यी सबै पृष्ठभूमिमा भारतीय प्रधानमन्त्री मोदीलाई अतिथिका रूपमा बोलाउनु गलत निर्णय भएको कतिपयको भनाइ छ । ‘मोदीलाई स्वतन्त्रता समारोहमा निम्ता गर्नु उत्तम विकल्प होइन,’ ढाका विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक डा. इम्तियाज अहमदले भने । टिस्टा नदीको पानी बाँडफाँटसम्बन्धी विवाद तथा सीमा क्षेत्रमा बंगलादेशी मारिएका घटनाले पनि बंगलादेशमा मोदीविरुद्ध आन्दोलन चर्केको उनको विश्लेषण छ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको कार्यशैली र बढ्दो अलोकप्रियताका कारण पनि प्रदर्शन चर्केको राजनीतिक विश्लेषक जिया हसनको बुझाइ छ ।

मोदीको यस पटकको बंगलादेश भ्रमण मुख्यत: स्वतन्त्रता दिवसमा केन्द्रित भए पनि यसको भारतमा भने राजनीतिक अर्थ देखिन्छ । खासगरी बंगलादेशसँग सीमा जोडिएको पश्चिम बंगालसहित केही राज्यमा शनिबारदेखि सुरु भएको चुनावमा यसले अर्थ राख्ने देखिन्छ ।

भ्रमण पूरा गरेसँगै मोदीले ट्वीट गर्दै ‘आफ्नो भ्रमणका क्रममा बंगलादेशका नागरिकले देखाएको स्नेहका लागि धन्यवाद’ समेत दिए । उनले दुई देशबीचको सम्बन्ध थप मजबुत र सुमधुर हुने उल्लेख गरे पनि भ्रमणका क्रममा भएका हिंसात्मक झडपबारे केही उल्लेख गरेनन् ।

Facebook Comments Box
Share This
  • 32
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    32
    Shares