खर्बपति शेष घलेको नक्कली भाइ समातिए

खर्बपति शेष घलेको नक्कली भाइ समातिए

आफूलाई खर्बपति व्यापारी तथा गैरआवासीय नेपालीहरूको संगठन (एनआरएन) का पूर्वअध्यक्ष शेष घलेको नक्कली भाइको भेषमा दुनियाँलाई ठग्दै हिँडेका गमबहादुर लामिछाने अकस्मात लाजिम्पाट र लैनचौरको दोसाँधबाट पक्राउ परेका छन् । स्कुटी चढेर नयाँ मुर्गाको हण्टिङमा निस्केको बेला उक्त ठाउँमा रहेको होटल एम्बेसडरको सातौं तलाबाट लामिछाने समातिएका हुन् ।

पौने पाँच करोडभन्दा बढी रुपैयाँ ठगी गरेको अर्थात् चेक बाउन्सको उजुर उनीबिरुद्ध दायर भएको अवस्थामा लामिछानेलाई काठमाडौं प्रहरीको विशेष टोलीले आज पक्रेको हो । एक जना चिनियाँ व्यवसायी चाङ जिनसियाङले खरिद गरेको गोंगबुस्थित एउटा घरलाई समेत ठगेर आफ्नो बनाएका उनले त्यसपछि चितवनलगायत विभिन्न ठाउँमा सिलसिलेवार ढंगले ठगी प्रक्रियालाई अघि बढाएका हुन् ।
विदेशीले नेपालमा सोझै लगानी गर्न,कम्पनी खोल्न र श्री सम्पत्ति किन्न नसक्ने भन्दै लामिछानेले चिनियाँले छ करोड असी लाखमा किनेको घर आफ्नो नाममा दर्ता कायम गरेका थिए । चीनसँग व्यापार गर्न दर्ता गरिएको टियानयु इन्टरनेशनल कम्पनीलाई अघि सार्दै उनले एक साताभित्र चिनियाँको नाममा घर नामसारी गरिदिने कागज गरेपनि वर्षौंसम्म त्यसो नगरेको अभियोग पनि उनीमााथि लाग्दै आएको छ ।

त्यसपछि चिनियाँ व्यापारीलाई घरको न घाटको बनाउँदै लामिछानेले चिनियाँको घरलाई सिभिलसहित विभिन्न बैंक तथा सेन्ट्रल फाइनान्सजस्ता वित्तीय संस्थामा धितो राखेर करोडौं रकम झिकेका थिए । पछिल्लो पटक सिभिल बैंकमा घर धितो राखेर थप २ करोड रुपैयाँ आफैैंले प्रयोग गरेको देखिन्छ । गौंडागौंडामा श्रीमती र लालाबाला भएका लामिछानेको अनौपचारिक श्रीमती धेरैवटी कान्छी रहेको रहस्यसमेत यसबीच खुलेको छ ।

दाइ शेष घले अष्ट्रेलियामा रहेको भन्दै धेरैलाई मुर्गा बनाई हिँडेका उनीचाँहि मध्यपूर्वका अरब मुलुकहरूमा काम गरेर स्वदेश फर्केका हुन् । लामिछानेको लमजुङबाट निकालिएको नागरिकता नै तीन वटा रहेको समाचार यसअघि जनआस्थाले प्रकाशित गरिसकेको छ ।
उनले चिनियाँ व्यवसायी चाङ दम्पत्तिलाई पछिल्लो दिन धम्क्याउँदै नेपाल छाड्न दबाव दिन थालेका थिए । अन्यथा, विदेशीलाई जे पनि गर्नेसम्मको धम्की दिएको बताइन्छ ।

चिनियाँ दम्पत्तिले आफ्नै लगानीमा चितवनमा घाँस उत्पादन गरेर तिब्बत निकासी गर्ने व्यवसाय सञ्चालन गर्दै आएका छन् । वर्षको छ महिना भन्दाबढी समय हिउँ पर्ने भएकाले तिब्बतका याकलाई चितवनको घाँस सुलभ र पोसिलो देखिएपछि चाङले उक्त व्यवसाय गर्दै आएका हुन् ।

तर, तिनै लामिछानेले चाङलाई अनेक दुःख दिँदै घाँस उत्पादन कम्पनी समेत आफ्नै भएको दाबी गर्दै आएका थिए । कतिपय ठाउँमा चिनियाँको व्यवसायलाई आफ्नै भएको झूठो विवरणसमेत दिएको देखिन्छ । घाँस फ्याक्ट्री हत्याएर विदेशीलाई दुःख दिने नियतले उनले चितवन अदालतमा मुद्दा हालेर धम्काएका थिए ।

स्कुटर चढ्ने, डेरामा बस्ने तर, कुरा भने करोड घटीको नगर्ने लामिछानेले भिआइपीबाहेकको गफ हान्न र सङ्गै बसेको फोटो देखाउन छाडेको धेरै भइसकेको थियो । पूर्वराजा ज्ञानेन्द्रदेखि प्रधानमन्त्री ओलीका भतिज टीका ओलीसम्मका राजनीतिक व्यक्तित्वसँग खिचिएको फोटोलाई दुरुपयोग गरेर जनता ठग्दै हिँडेका उनीसँग साथमा भने मुश्किलले हजारको नोट भेटिने उनका संगती हरूले बताएका छन् । उनले व्यवसायीलाई मात्रै होइन अदालतका कतिपय न्यायाधीशका श्रीमतीहरूलाई समेत उच्च ब्याजको लोभ देखाएर लाखौं ठगेका छन् ।

पछिल्लो पटक उनले अमेरिका बस्ने ललितपुरस्थित एउटा सहकारीका अध्यक्ष श्रीनाथ खड्कालाई ठगेको उजुरी परेपछि प्रहरीले आज लाजिम्पाटबाट पक्रेको हो ।

पटक पटक पक्राउ पर्दा राजनीतिक शक्तिको आडमा छुट्दै आएका लामिछानेले यसपटक नेपाल प्रहरीलाई राजनीतिक प्रभावमा पार्छन् कि पार्दैनन् त्यो भने हेर्न बाँकी छ । मुलुकमा वैदेशिक लगानी गरेर उद्योग व्यवसाय सञ्चालन गर्ने तथा रोजगारी सिर्जना गर्ने विदेशीहरूलाई दुःख दिएका उनको आजको पक्राउले वैदेशिक लगानीमा संलग्न विदेशीलाई सबैभन्दा ठूलो राहत मिलेको बताइन्छ ।

अन्यथा, यस्तालाई पुनः छाडिदिने हो भने अरु धेरैले थप दुःख पाउने र नेपालमा लगानी गर्न र नेपाली साझेदारलाई उनीहरूले बिश्वास गर्न छाड्ने निश्चित रहेको सर्वसाधारण बताउँछन् । जनआस्था

Facebook Comments Box
Share This
  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares