दुर्गाले देश टेके, आमा भेटे तर सहज छैन जीवन

दुर्गाले देश टेके, आमा भेटे तर सहज छैन जीवन

कसुर प्रमाणबिना भारतीय जेलमा ४० वर्ष बिताएर आइतबार इलामस्थित लुम्बाक घर आइपुगेका दुर्गाप्रसाद तिम्सिनामा कुनै उत्साह देखिएन । न त ८५ वर्षीया वृद्धा आमालाई भेट्दाका खुशी नै उनको अनुहारमा देखियो । दुर्गाप्रसाद आउने खबरले बिहानैदेखि भेला भएका छिमेकी र सञ्चारकर्मीले अड्कल गरेभन्दा फरक देखियो, चार दशकपछि अप्रत्यासित आमा–छोरा मिलनको त्यो क्षण ।

आइतबार काठले बेरेको भुइँतले घरको पिँढीमा बसिरहेकी थिइन् धनमाया । जुत्ता या चप्पल भने पनि फाटेका फरक रंगका मोजा लगाएकी थिइन् उनले । ४१ वर्षअघि बेपत्ता भएका छोरा घर आउने खबरबाट निकै खुशी देखिएकी धनमाया छिमेकी र सञ्चारकर्मीसँग निकै हौसिएर गफ गरिरहेकी थिइन् ।

गाईले हानेर एउटा हात गुमाएकी, राम्ररी कानसमेत सुन्न नसक्ने धनमाया अक्सर घरमाथिको कच्ची मोटरबाटोतर्फ फर्किएर बस्थिन् । सायद छोरोलाई चाँडै देख्ने चाहना थियो । यसैले बाटोतर्फ फर्केर बस्थिन् । घाम कोल्टिँदै गर्दा प्रतिक्षाको खडी समाप्त भयो । दुर्गाप्रसादका काकाको छोरा भाइ प्रकाशविक्रम तिम्सिना र भतिजो गोपालले डो¥याउँदै दुर्गाप्रसादलाई घरसम्म ल्याइपु¥याए । उनलाई हिँड्न निकै गाह्रो भइरहेको देखिन्थ्यो ।

दुर्गाप्रसादले पहिलो पल्ट घरको आँगन टेक्दै गर्दा उपस्थित धेरैले बेपत्ता भएको लामो समयपछि छोरासँगको भेटमा आमाले खुशीले आँशु झार्लिन्, घप्लक्क अँगालो मार्लिन् र दुर्गाप्रसादले पनि यति लामो नारकीय जीवनबाट फर्किएर ८५ वर्षीया आमाको न्यानो स्वागत पाउँदा ‘आमा’ भन्दै पाउ पर्लान् । सन्चो बिसन्चो सोध्लान् भन्ने लख काटेका थिए । तर, यस्तो विल्कुलै भएन । पिँढीमा रहेको काठे बेन्चमा आमा–छोरालाई सँगै राखियो ।

आमाले एक टकले निकै बेर छोरालाई हेरिन् । लामो जेल बसाइ र भारतीय प्रहरीको यातनाका कारण बिरामी परेका दुर्गाप्रसादले आमाको मुहारसम्म नहेरी नचिनेझैँ बसिरहे । थोरै काँपिरहेका थिए । केही बोलेनन् । बरु आमाले छोराको मुखमा एक टकले हेरेर ‘आबुई यो त बिरामी पो भएछ !’ पटक–पटक दोहो¥याई रहिन् । आमाको स्नेह छोरामाथि पोखिएको स्वाभाविक रूपमा देख्न सकिन्थ्यो । तर, दुर्गाप्रसादले भने चिनेको नचिने झैं गरिरहे । सायद अस्वस्थताका कारण हुन सक्छ ।

वर्षौंपछिको अनपेक्षित पुनर्मिलनमा मानवीय संवेदनाअनुसारको दृश्य नदेखिएपछि उपस्थित केहीले दुर्गाप्रसादलाई आमालाई अँगालो हाल्न लगाए । धनमायाको छोराप्रतिको माया त्यहाँ पनि पोखियो, ‘आबुई उसको हात दुख्छ होला नि !’

यसपछि कलकत्ताबाट ल्याएको रसबरी आमालाई खुवाउन लगाइयो दुर्गाप्रसादलाई । आफैँ हातसमेत राम्ररी चलाउन नसक्ने अवस्थाका दुर्गाप्रसादले भाइको सहारामा आमालाई चम्चीले मिठाई खुवाउन खोजे । आमाले मानिनन् ।

अहिलेसम्म यस्तो चिज खाएकै छैन । म खान्नँ । के हो पेट हुँडुलिन्छ होला भन्दै मिठाई खान अस्वीकार गरेपछि दूधबाट बनेको हो भनेर थोरै खाइन् । ‘८५ वर्षमा यस्तो खाएकी थिइन ।’ अमिलो भए जसरी मुख बिगार्दै धनमायाले भनिन् । धनमायालाई पनि छोरालाई मिठाई खुवाउन लगाइयो । आमा धनमायाले मिठाई खुवाउन खोजे तर दुर्गाले खान मानेनन् । मुखले खान्न भनेनन् तर हातले छेके, टाउको हल्लाउने गरे ।

धनमायाले कान्छो छोराको छोरा नाति गोपालतिर देखाउँदै भनिन्, ‘साइँलो घर छोड्नुभन्दा अघि तँ जस्तै थियो । अहिले त फोक्से मासु पो लागेछ ।’ तर आमाको भनाइमा दुर्गाप्रसादले कुनै प्रतिक्रिया जनाएनन् ।

साँझमा दहीसँग खाना खाएपछि आमा र परिवारसँग दुर्गाप्रसादले थोरै संवाद गरेका थिए । आमाले हामीलाई बिचल्ली पारेर किन हिँडिस् भनी सोध्दा दुर्गाप्रसादले ‘पैसा कमाउन गएँ’ भनेर छोटो उत्तर दिएका थिए । पहिलो दिनभन्दा पछिल्लो दिन दुर्गाप्रसाद केही खुशी देखिएका छन् । उनले आफू निर्दोष रहेको दार्जिलिङमा प्रकाश भन्नेले मान्छे मारेर आफूलाई यातना दिई जबर्जस्ती हो भन्न लगाएको बताएको भतिज गोपालले बताए । भारतीय प्रहरीले रक्सी खाँदै सिस्नुपानीले हानेको, करेन्ट लगाएर यातना दिएकोे पनि बताए । पाइतालामा करेन्ट लगाएजस्तो कालो दाग देखिन्छ । लामो जेल बसाइसँगै भारतीय प्रहरीको क्रुर यातनाका कारण दुर्गाप्रसाद शारीरिक र मानसिक दुवै रूपमा बिरामी छन् ।

पैसा कमाउन भागेर दार्जिलिङ
फाकफोक थुमबाट ०३७ सालमा तीन पाथी तोरी बेच्न मंगलबारे बजार गएका दुर्गाप्रसाद घर फर्किएनन् । घरपरिवारबाट सम्पर्कविहीन भए । बेपत्ता भए । तोरी बेचेको पैसाले बाटो खर्च गर्दै पैसा कमाउन दार्जिलिङ पुगे । दार्जिलिङ पुगेर त्यहाँको चिया कमानमा काम गर्दा गर्दै उनलाई एक जना महिला हत्याको अभियोग लाग्यो । हत्याको आरोप लगाउँदै दार्जिलिङ पुलिसमा नैन घलेले उजुरी दिएका थिए ।

सुवास घिसिङको नेतृत्वमा गोर्खाल्याण्ड आन्दोलन पनि चलिरहेको थियो । दार्जिलिङबाट उनलाई कलकत्ताको दमदम जेलमा लामो समय बिनासुनुवाइ राखियो । यता, उनका परिवारलाई भने मरे÷बाँचेको पत्तै भएन । गोर्खाल्याण्ड आन्दोलनमा मारिए कि भन्ने अन्दाज पनि परिवारले गरे । तर, अचानक ०६९ सालमा दीपक जैसीको नाममा घरमा जेलमा रहेको व्यहोराको चिठी आयो तर दीपक जैसी नै दुर्गाप्रसाद हो कि होइन भन्नेमा परिवार अन्योलग्रस्त भयो । परिवारले खोज्ने प्रयास गरे । नाम, थर केही नमिलेकाले सम्भव भएन । माओवादीको आरोपमा राधेश्याम दास नामका भारतीय १० वर्षको अन्तरालमा जेल परे । १० पछि जेल पर्दा पनि दुर्गाप्रसाद (अदालती नाम दीपक जोशी) लाई अदालतमै भेटेपछि उनले दुर्गाप्रसादलाई लामो समयदेखि बिनासुनुवाइ जेलमा राखिएको कुरा बाहिर ल्याएका थिए । त्यसपछि वेस्ट बंगाल रेडियो क्लब, विश्व सेवा विस्तार संस्थामार्फत दुर्गाप्रसादको आफन्तको पहिचान खुलेपछि उनलाई छुटाउन ठोस् पहल शुरु भएको हो ।

दुर्गाप्रसादको मानसिक अवस्था ठीक नभएको डाक्टरी रिपोर्टपछि कोलकत्ताको हाइकोर्टले मानसिक अवस्था नौ वर्षको बच्चाको जस्तो भएको भन्दै रिहाइको लागि आदेश दिएको थियो । आदेशपछि उनी शनिबार रिहाइ भए ।

अर्को चुनौती
दुर्गाप्रसाद ४० वर्षको नारकीय जीवनबाट जीवितै फर्कन त सफल भए । तर, उनको आगामी जीवन त्यति सहज देखिन्न । लामो जेल बसाइ र यातनाका कारण मानसिक र शारीरिक अवस्था कमजोर भएका दुर्गाप्रसाद कसैको सहाराबिना जिउन सक्ने अवस्थामा छैनन् ।
बाबु उनले घर छाडेको ६ वर्षपछि ४५ वर्षको उमेरमा बिते । दुई दाजु र एक दिदी पनि सानैमा बिते । माइला दाइ पनि मानसिक रोगी थिए । गत मंसिरमा बिते । भाइ बुहारी र आमा छन् घरमा । भाइ बुहारीको घर झगडा अदालतसम्म पुगेको छ । एउटा हात गुमाएकी ८५ वर्षीया आमा छिन् । उनी सरकारले दिएको वृद्धभत्ताले जेनतेन जीवन धानिरहेकी छन् । बहिनी पनि मानसिक रोगी छिन् । बारीमा एक्लै भात पकाएर खान्छिन् । साँझ सुत्न मात्र घर आउँछिन् ।

एउटै घरमा तीन चुला छन् । भाइको छुट्टै, बुहारीको छुट्टै र आमाको छुट्टै । एउटै हात भए पनि आमाले आफै भान्सा बनाउँछिन् । दुर्गाप्रसादलाई कसले संरक्षण गर्ने भन्ने समस्या देखिएको छ । बिरामी दुर्गाप्रसादको लालनपालन मात्र होइन, उपचार पनि आवश्यक देखिन्छ । उनको उपचारमा लाग्ने खर्च जुटाउनदेखि हेरचाह गर्न पनि समस्या हुने देखिन्छ । दमदम जेलमा रहँदा औषधि खाइरहन्थे दुर्गाप्रसादले तर यहाँ आउँदा उनले औषधिसमेत नलिई आएकाले तत्काल स्वास्थ्य परीक्षण गरेर औषधि खुवाउनुपर्ने देखिन्छ । उनको उपचार र लालनपालनका लागि संघसंस्थासँग सहयोग लिने भतिजो गोपालले बताए । ‘समस्या छ, अब सहयोग लिएर उपचार गर्नुपर्ला’ गोपालले जनआस्थासँग भने ।

– सटेन्द्र जबेगुबाट

Facebook Comments Box
Share This
  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares