नेपाल समूहका नेताहरू कारबाही गर्न योग्य , गुटगत रूपमा प्रस्तुत हुने कुनै पनि समूहसँग ‘डिलिङ’ हुदैन  – प्रधानमन्त्री ओली

नेपाल समूहका नेताहरू कारबाही गर्न योग्य , गुटगत रूपमा प्रस्तुत हुने कुनै पनि समूहसँग ‘डिलिङ’ हुदैन – प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले गएको फागुन २८ गतेपछिका संसदीय दलको बैठकले गरेका निर्णयबाट पछि हट्न नसकिने स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले फागुन २८ गतेपछि संसदीय दलको बैठकले गरेका निर्णयबाट पछि हट्न नसकिने बताउनुभएको हो ।


यस्तै उहाँले संशोधनसहित पारित भएको पार्टीको विधानलाई फेरि तलमाथि गर्न सकिने अवस्था नरहेको बताउनुभएको छ । आवश्यक पर्‍यो भने समयक्रम अनुसार संशोधन गर्न सकिने तर अहिले नै तलमाथि गरेर जान नसकिने उहाँको भनाइ थियो ।

यस्तै प्रधानमन्त्री एवम् एमाले संसदीय दलका नेता तथा पार्टी अध्यक्ष ओलीले गुटगत रूपमा प्रस्तुत हुने कुनै पनि समूहसँग ‘डिलिङ’ नहुने बताउनुभएको छ । व्यक्तिगत रूपमा आएका सबैको आलोचना र गुनासा सुन्न आफू तयार रहेको भन्दै उहाँले समूहगत रूपमा अघि बढ्नेसँग आफूले छलफल नगर्ने बताउनुभएको हो ।

नेकपा एमाले बिउँतिएपछि संसदीय दलको बैठकमा पहिलो पटक सहभागी भएका खनाल–नेपाल समूहका नेताहरू योगेश भट्टराई, घनश्याम भुसाल, गोकर्ण विष्टलगायत सांसदहरूले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न आग्रह गर्नुभएको तर प्रधानमन्त्री ओलीले समूहगत रूपमा कसैसँग पनि छलफल नगर्ने स्पष्ट पार्नुभएको नेकपा एमालेका प्रमुख सचेत विशाल भट्टराईले जानकारी दिनुभयो ।

प्रमुख सचेतक भट्टराईका अनुसार शुक्रवारको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आउँदो वर्षको बजेट निर्माणमा आवश्यक सुझावसमेत माग्नुभएको थियो ।

यस्तै शुक्रवारको बैठकमा खनाल–नेपाल समूहले उपलब्ध गराएको स्पष्टीकरणबारे पनि छलफल भएको प्रमुख सचेतक भट्टराईले बताउनुभयो । उहाँहरूको स्पष्टीकरण प्राप्त भएको र त्यस आधारमा नेपाल समूहका नेताहरूलाई कारबाही गर्न योग्य बनाएको प्रधानमन्त्री ओलीले बताउनुभएको प्रमुख सचेतक भट्टराईले जानकारी दिनुभयो ।

Facebook Comments Box
Share This
  • 40
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    40
    Shares