रेशम चौधरीलाई भेट्न पुगे ,महेश बस्नेत डिल्लीबजार कारागार
काठमाडौं । जेलमा रहेका जनता समाजवादी पार्टीका सांसद रेशम चौधरीलाई भेट्न एमाले सांसद महेश बस्नेत डिल्लीबजार कारागार पुगेका छन । एसएसपी लक्ष्मण न्यौपानेसहितको टीकापुर हत्याकाण्डका मुख्य आरोपी चौधरीलाई भेट्न बस्नेत शुक्रबार बिहान कारागार पुगेका हुन ।
समाजवादी पार्टीसँग सत्ता साझेदारीका लागि प्रधानमन्त्री ओलीले कुराकानी अघि बढाइरहेका बेला बस्नेतले चौधरीसंग भेटवार्ता गरेका हुन । संविधान संशोधनसहित टिकापुर हत्याकाण्डका आरोपीलाई रिहा गर्नुपर्ने लगायत माग जसपाको छ। चौधरीको रिहाइ र संशोधन विषय अगाडि बढे ओलीसँग साझेदारी गर्न जसपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतो सकारात्मक भएका छन ।
सांसद बस्नेतले चौधरीको रिहाइसहितको जसपा मागमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ‘विशेष’ निर्णय गरिसकेकाले आफू भेट्न जेल पुगेको बताए । उहाँहरूको मागबारे मन्त्रिपरिषदले विशेष निर्णय गरेको मैले सूचना पाएको छु, त्यसैले म भेट्न गएँ,’ बस्नेतले संचारकर्मीसंग भने , ‘विप्लव समूहका नेता कार्यकर्ता रिहा गर्न भएको सम्झौताकै स्पिरिटमा रहेर जसपाको माग सम्बोधन गर्ने विषयमा मन्त्रिपरिषदले विशेष निर्णय गरेको अवस्थामा म उहाँलाई भेट्न पुगेको हुँ।’ चौधरीको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।
भेटमा सांसद चौधरीले प्रधानमन्त्री ओलीले नै पार्टीको एजेन्डालाई सम्बोधन गर्न सक्ने भएकाले आफूहरू सकारात्मक भएको प्रतिक्रिया दिएका थिए।रेशम चौधरीलाई कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा ९ जनाको ज्यान जाने गरी ७ भदौ २०७२ मा टीकापुरमा भएको हिंसात्मक घटनामा अदालतले दोषी ठहर गरी जन्मकैदको सजाय सुनाएको छ । उक्त घटनासम्बन्धी मुद्दामा जिल्ला अदालतले गरेको फैसलालाई उच्च अदालतले केही उल्टी गरेपनि रेशमको जन्मकैदलाई भने सदर गरेको थियो ।