काँग्रेसको टाउको दुख्यो

काँग्रेसको टाउको दुख्यो

आगामी भदौमा महाधिवेशन गर्न कस्सिएको नेपाली काँग्रेसलाई क्रियाशील सदस्यता विवाद टाउको दुःखाई बनेको छ । सदस्यता विवाद टुङ्गो लगाउन नसकेकै कारण गत फागुनको निम्ति तय भएको महाधिवेशनको मिति भदौमा सारेको काँग्रेसलाई पुनः लम्ब्याउने सुविधा भने छैन ।

काँग्रेसको विधानको धारा ४३ मा पार्टीका सबै तहका पदाधिकारी र सदस्यहरूको पदावधी चार वर्षको हुने व्यवस्था छ । त्यस्तै, असाधारण परिस्थितिमा एक वर्ष थप गर्न पाउने व्यवस्था समेत छ । संविधानको धारा २६९ (४) को प्रतिबन्धात्मक वाक्यांशमा विशेष परिस्थितिका कारण पाँच वर्षभित्र महाधिवेशन हुन नसकेमा ६ महिना थप गर्नसक्ने प्रावधानअनुसार फागुनको मिति भदौको लागि सारिएको हो । तर, क्रियाशील सदस्यता विवादकै कारण भदौको महाधिवेशन पनि अन्योल बनेको नेताहरू बताउँछन् ।

नेता गगन थापाले सदस्यता विवादका कारण केही अन्योलता देखिएपनि घोषित कार्यतालिका हेरफेर नहुने बताए । सदस्यता विवाद टुङ्ग्याएर वडादेखि प्रदेशसम्मका अधिवेशनहरू निर्धारित मितिमै गर्न सकिने उनले बताए । ‘धेरैजसो जिल्लाको काम टुङ्गिसकेको छ । एक दर्जन जति जिल्लामा केही समस्या देखियो, त्यसमध्ये पनि तीन–चार वटा जिल्लामा मात्रै अलि बढी समस्या हो । यसलाई नीतिगत निर्णय गरेर टुङ्गोमा पुर्याउनुपर्छ,’ उनले भने । चैतभरिमा सदस्यता विवाद हल गर्न सके कार्यतालिका हेरफेर गर्न नपर्ने थापाको भनाई छ ।

सदस्यता विवादकै कारण महाधिवेशनको मिति सारेको काँग्रेसले चैत १० गतेभित्र सबै जिल्लाले क्रियाशील सदस्यता नवीकरण तथा नयाँको टुङ्गो लगाउने कार्यतालिका सार्वजनिक गरेको थियो । सदस्यताको अन्तिम सूची पठाउने म्याद १० चैतभित्र ५० प्रतिशत पनि काम नभएपछि काँग्रेसलाई टाउको दुःखाई बनेको हो ।

थापाले चैत महिनाभित्र सदस्यतासम्बन्धी सबै विवाद टुङगो लाग्ने पनि बताए । विभिन्न पार्टीबाट काँग्रेस प्रवेश गरेका र एकतामा आएकाहरूलाई समायोजनमा समस्या देखिएको भन्दै उनले छानबीन समितिले छिट्टै विवाद हल गर्नेमा विश्वास व्यक्त गरे । थापाले भने, ‘रमेश दाई (रमेश लेखक) को नेतृत्वमा छानबीन समिति बनेको छ, त्यसले जहाँ विवाद देखियो त्यहाँ छानबीन गर्छ र अन्तिम निर्णय पनि गर्छ ।’

अरु पार्टीबाट प्रवेश गरेर आएकाहरूको संख्या ठूलो भएकाले समस्या देखिएको उनले बताए । समाधान गर्न नीतिगत निर्णय गर्नुपर्नेमा थापाले जोड दिए । ‘हामीले सोलोडोलो निर्णय गर्यौं, त्यसले केहि ठाउँमा समस्या आयो, अब त्यसलाई नीतिगत निर्णय गरेर सल्टाउनुपर्छ । सदस्यता प्राप्तिको मापदण्ड के बनाउने भन्ने कुरा नीतिगत तहबाटै हल गर्नुपर्छ,’ उनले भने ।

काँग्रेसले सार्वजनिक गरेको महाधिवेशनको कार्यतालिकाअनुसार असार ५ गते गाउँ/नगर वडा अधिवेशन गर्नुपर्नेछ । गाउँ/नगरपालिकाको अधिवेशन असार ७ गते र प्रदेशसभा तथा क्षेत्रीय अधिवेशन श्रावण १ गतेलाई तोकिएको छ । त्यस्तै, कार्यतालिकाअनुसार एक मात्र प्रतिनिधिसभा भएको जिल्लामा क्षेत्रीय अधिवेशन श्रावण ३ गते र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन श्रावण ६ गते हुनेछ । प्रदेशको अधिवेशन श्रावण १० र ११ गते हुने कार्यतालिका छ ।

नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरण कार्यतालिकाअनुसार सम्पन्न हुन नसकेपछि समग्र कार्यतालिका प्रभावित हुनसक्ने अवस्था देखिएको छ । तर, काँग्रेस केन्द्रीय समितिको फागुन ७ को निर्णयअनुसार क्रियाशील सदस्यता छानबीन समितिलाई विवाद समाधानको जिम्मा दिइएको छ । समितिलाई कार्यतालिका प्रभावित नहुने गरी सदस्यता वितरण र नवीकरणमा देखिएका सबै विवाद टुङ्ग्याउन अख्तियारी दिइएको छ । त्यस्तै, कार्यतालिका संशोधन र परिमार्जन गरी लागू गर्न समितिलाई नै जिम्मेवारी दिइएको छ ।

नेता थापाले पनि छानबीन समितिले विवाद समाधान गर्ने दाबी गरे । ‘पहिलाजस्तो होइन, अहिले जिल्ला जिल्लाबाटै डाटा इन्ट्री गर्ने व्यवस्था गरिएको छ । कतिपय जिल्लामा इन्ट्री गर्ने काम मात्र बाँकी रहेको हो । जटिलता देखिएका केही ठाउँमा समितिले आवश्यक निर्णय गर्छ,’ उनले भने ।

Facebook Comments Box
Share This
  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares