ती ‘अन्तर्घाती’ को को रहेछन् ?

ती ‘अन्तर्घाती’ को को रहेछन् ?

केपी ओलीले भाषणैपिच्छे आफूलाई एमालेको ०७१ सालमा सम्पन्न ‘नवौँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष’, ‘बढी भोट ल्याएको’ जस्ता कुरा गरिरहनुहुन्छ । तर, अभिलेख पल्टायो भने त्यसबेला अध्यक्षमा ५३ मतले पराजित हुनुभएका माधव नेपालले सदस्यतर्फ सबभन्दा बढी मत ल्याउनुभएको देखिन्छ ।

एमालेको पदाधिकारीमा उम्मेदवार हुने प्रत्येक नेताले केन्द्रीय सदस्यमा पनि अलग्गै उम्मेद्वारी दिने प्रचलन छ । त्यसअनुसार, एक व्यक्ति दुई किसिमको उम्मेदवार हुनसक्छन् । नवौँ महाधिवेशनमा अध्यक्षतर्फ उम्मेद्वारी दिनुभएका माधवकुमार नेपालले केन्द्रीय सदस्यमा पनि उठ्नुभएको थियो । अध्यक्षमा ५३ मत कम हुँदा पराजित हुनुभयो ।

तर, केन्द्रीय सदस्यमध्ये सर्वाधिक मत पाउनुभयो, ११ सय ४४ । त्यसअघि बुटवलमा सम्पन्न आठौँ महाधिवेशनमा पनि माधव नेपालले केन्द्रीय सदस्यतर्फ केपी ओलीको भन्दा १ सय ३ भोट बढी पाउनुभयो । माधवले १४ सय १६ र केपीले १३ सय १३ मत ल्याउनुभएको हो । यद्यपि, उक्त महाधिवेशनमा माधव र केपीको एउटै प्यानल थियो र झलनाथ खनालका विरुद्ध केपीले उम्मेदवारी दिनुभएको थियो । नवौँ महाधिवेशनमा ५३ मत कम भएर माधवले अध्यक्षमा हारिरहँदा ७३ भोट शंकास्पद तवरले बिगारिएको थियो ।

अध्यक्षमा माधवसहित उहाँकै समूहबाट सचिवमा उठेका बेदुराम भुषाल र रघु पन्तका हकमा ७३ भोट बिग्रिएको हो । यदि ती भोट नबिग्रिएका भए माधव, बेदुराम र रघुले पनि चुनाव जित्नुहुने थियो । त्यसको बदलामा शंकर पोखरेल र भीम आचार्यले पराजय व्यहोर्नुपर्ने थियो । ७३ मतमा पदाधिकारीतर्फ माधव, बेदुराम र रघुबाहेक सबै माधव प्यानलमा हालिएका मत थिए । तर, तिनै मतपत्रमा केन्द्रीय सदस्यतर्फ यी तीनैजनालाई मतदान गरिएको भेटिन्छ ।

एमालेले विकास गरेको प्रचलनअनुसार, पदाधिकारीमा उम्मेदवार हुने व्यक्ति त्यता पराजित भए पनि केन्द्रीय सदस्यमा पराजित नहोस् भन्नका लागि दोहोरो उम्मेद्वारीको व्यवस्था गरिएको हो । तर, निर्वाचित पदाधिकारीमा केन्द्रीय सदस्यको मत गणना गरिँदैन । किनभने, कथंकदाचित अध्यक्ष जितेको छ, तर केन्द्रीय सदस्यमा हारेको छ भने उसको वैधानिकताको प्रश्न उठेर डामाडोल हुने खतरा छ † अनि, कतिपय व्यक्ति पदाधिकारीमा पराजित भएर पनि केन्द्रीय सदस्यमा पराजित हुन्छन् । त्यस्ता अभागी हुन्, ओली प्यानलबाट उपाध्यक्ष उठेका धर्मनाथ साह र सचिवमा उम्मेद्वार भएका रघुवीर महासेठ । यी दुईले पदाधिकारी त हारे–हारे, केन्द्रीय सदस्यमा पनि जित्न सकेनन् । अहिले उनै रघुवीरलाई एकैचोटि ओली समूहको स्थायी कमिटी सदस्य बनाइएको छ ।

Facebook Comments Box
Share This
  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares