उपचार खर्चकै अभावले ज्यान गुमाइन् आगोमा जलेकी निरसीदेवीले

उपचार खर्चकै अभावले ज्यान गुमाइन् आगोमा जलेकी निरसीदेवीले

उपचार खर्च अभावकै कारण ज्यान गुमाउने पछिल्लो उदाहरण बनेकी छन्, सप्तरीकी निरसीदेवी खंग । सधैं दुःख र अभावको सामना गरेकी उनले जसोतसो जाडोको पनि सामना गर्न खोजिन् । विगतका वर्षमा जस्तै यस पटकको शीतलहरमा पनि जाडो छल्न उनले आगोकै सहारा लिइन् । दाउरा बटुल्दै, पात सोहोर्दै घुर बालेर उनी आगो बाल्दै ताप्थिन् ।

राजविराज नगरपालिका–१० दिघवास्थित घरमा घुर बालेर तापिरहेकी थिइन् । एक्कासी उनले लगाएको सारीबाट आगो सल्किएर जीउ नै जल्यो । तत्कालै उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल ल्याइयो ।

झण्डै एक महिनासम्म सोही अस्पतालमा बसिन् उपचार हुने आशमा । ‘बाहिर लग्न सक्ने आर्थिक अवस्था नै थिएन,’ निरसीका पति राजारामले भने, ‘चारैतिरबाट रकमको जोहो गर्न खोजे । तर हुन नसकेपछि यहीं उपचार हुने अन्तिम विश्वास गरेका थियौं ।’

हुन त निरसीदेवी आगोमा जलेर उपचार गराइरहेको थाहा पाएपछि केही मनकारी मनले सानो आर्थिक सहयोग गरेका थिए । १ हजारदेखि ३ हजार रुपैयाँसम्म केही व्यक्तिले सहयोग गरेपनि त्यो उपचारका लागि पर्याप्त भएन ।

गजेन्द्रनारायण सिंह अस्पतालमा आगोमा जलेका व्यक्तिको उपचार हुन नसक्ने कुरा राजारामलाई थाहा थियो । तर, आर्थिक संकटका कारण बाहिर लैजान नसकिएको उनले बताए ।

केही आर्थिक सहयोग पाएपछि निरसीदेवीलाई अस्पतालकै एम्बुलेन्समार्फत गत शुक्रबार कीर्तिपुर अस्पताल लगियो । तर, शनिबारै साँझ उनको मृत्यु भयो । ‘उपचारका लागि ल्याउन धेरै ढिलो भयो भनेर चिकित्सकले भनेको रहेछ,’ राजारामले भने, ‘त्यहाँ लगेको एकदिन नबित्दै मृत्यु भयो ।’

उनलाई काठमाडौं पुर्‍याउन अस्पतालले ओसिएमसी कोषबाट ७ हजार रुपैयाँ सहयोग गर्दै एम्बुलेन्ससमेत प्रदान गरेको थियो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाले बाहिर लैजान आफूले पटक–पटक भनेपनि नलगेको बताए । ‘शरीरमा आगो लागेपछि त्यसको उपचार गर्ने छुट्टै युनिट हुन्छ, जुन यो अस्पतालमा छैन,’ डा. झाले भने, ‘यो कुरा भनेपनि उनका परिवारले बाहिर लगेनन् ।’

कीर्तिपुर अस्पतालमा मृत्यु भएकी निरसीदेवीको शव आर्थिक सहयोग जुटाएर राजविराज ल्याइएको छ ।

गरिबको पीडा : काम गर्ने कि बिरामीको उपचार ?

दिघवा गाउँको ऐलानी जग्गामा सानो झुपडी बनाएर राजाराम पत्नी निरसीदेवी र २ वर्षीया छोरीसँगै बस्दै आएका थिए । दैनिक ज्याला मजदुरी गरेर परिवारको गुजारा चलाउँदै आएका राजाराम त्यत्तिखेर समस्यामा परे जतिखेर उनकी २७ वर्षीया पत्नी निरसीदेवी आगोमा जलेर घाइते भइन् ।

उनले तत्कालै पत्नीलाई उपचारका लागि अस्पताल त भर्ना गरे । तर, उपचार खर्च खोज्नु र र छोरीलाई हेर्ने बाध्यता पनि थपियो । ‘पत्नीको उपचारका लागि पैसा खोज्न धेरै ठाउँमा छोरी बोकेरै गएँ,’ उनले भने, ‘सहयोग भने कतैबाट पाइँन ।’

अन्तिममा चर्को व्याजमा ऋण नै लिनुपरेको उनले सुनाए । सुरुदेखि अहिलेसम्म ८० हजार जति ऋण लिएको छु,’ उनले भने, ‘बाहिर जाँदा पत्नीको कुरुवा बस्न पाइँन । कुरुवा बस्दा हातमा पैसा हुन्नथ्यो ।’

गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. झा राजाराम बाहिर जाँदा निरसीको कुरुवा बस्न कोही पनि नआएको बताए । ‘हामीले आफ्नो तर्फबाट सकेजति सहयोग ग¥यौं । तर, उनी बाँच्न सकिनन्,’ उनले भने ।

निरसीदेवीको मृत्युपछि उनकी २ वर्षीया छोरी टुहुरा भएकी छन् । ‘अब छोरीको कसरी हेरचाह गर्नु’ अनुहार मलिनो पार्दै राजारामले भने, ‘ईश्वरले हामी गरिबलाई नै दुःख दिँदारहेछन् ।’

कोरोना भाइरस सर्न नदिने नाममा लामो समयसम्म भएको लकडाउन र बन्दाबन्दीले राजारामले कुनै काम नै पाएनन् । कात्तिकदेखि काम पाउन थालेका उनी कहिले ४ सय कमाउँथे त कहिले ५ सय । यो रकम त छाक टार्न र दैनिक आवश्यकता पूर्ति गर्नमै खर्च भइहाल्थ्यो’ उनले भने, ‘अब त छोरीको स्याहार गर्नेदेखि कमाउनेसम्मको जिम्मेवारी आएको छ ।’
news sources :www.onlinekhabar.com

Facebook Comments Box
Share This
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares