आन्दोलनरत राइडरहरुले गरे पठाओको कार्यालयमा तोडफोड

आन्दोलनरत राइडरहरुले गरे पठाओको कार्यालयमा तोडफोड

काठमाडौं । राइड सेयरिङ एप पठाओका असन्तुष्ट राइडरहरूले कम्पनीको कार्यालयमा तोडफोड गरेका छन् ।

पठाओका चालकहरु विभिन्न मागसहित केही समयदेखि आन्दोलनरत थिए । आफुहरुले अघि सारेका विभिन्न मागहरु पुरा नभएको भन्दै कार्यालय घेराउ गर्न गएका चालकहरुले कार्यालय तोडफोड गरेका हुन् ।

चालकहरुले कमिसन घटाउनु पर्ने माग गर्दै गत सोमबार कम्पनीलाई ज्ञापनपत्र बुझाएका थिए । हाल २० प्रतिशत कमिसन लिइरहेको कम्पनीले अधिकतम् ८ प्रतिशत मात्रै कमिसन लिन उनीहरुले दबाव दिँदै आएका छन् ।

चालकहरु विभिन्न मागसहित आन्दोलनमा उत्रिएपछि पठाओले राइडर र यात्रुको १ लाखसम्मको उपचार बिमा र मृत्यु भएमा ५ लाखको दुर्घटना बिमा गर्ने घोषणा गरेको छ । तर, कमिसन घटाउने लगायतका मागमा भने कम्पनी सहमत भएको छैन ।

चालकहरुले प्रस्ताव गरेको विभिन्न ११ बुँदाको मागमध्ये कतिपय माग पुरा गर्न नसक्ने बताएपछि आज केही राइडरहरु वार्ताका लागि पठाओको कार्यालय पुगेका थिए । त्यही समयमा बाहिरबाट केही व्यक्तिले कम्पनी रहेको भवनको झ्यालको सिसा फुटाएको बानेश्वर प्रहरीका प्रहरी नायब उपरीक्षक दक्षबहादुर बस्नेतले बताएका छन् ।

त्यहाँ रहेका २६ जनालाई नियन्त्रणमा लिएर संलग्नहरुको स्क्रिनिङ भइरहेको पनि बस्नेतले जानकारी दिए ।

Share This
  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares