January 27, 2022, Thursday
१३ माघ २०७८, बिहीबार

काठमाडौँको नयाँ बसपार्कको गेस्ट हाउसमा सामूहिक बलात्कार, ७ जना पक्राउ

काठमाडौँ । काठमाडौँको नयाँ बसपार्कको गेस्ट हाउसमा ९ जनाले एक युवतीलाई सामूहिक बलात्कार गरेका छन् । बलात्कारमा संलग्न ७ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

Advertisement

३३ वर्षीया पीडित युवती काम खोज्न सुर्खेतबाट काठमाडौँ आएकी हुन् । उनका पति लामो समयदेखि भारत गएर बेपत्ता भएपछि दुई सन्तानको लालनपालनका लागी उनी काठमाडौँ आएकी थिइन् । पिडा सहन नसकेर चिच्याउँदै उनी प्रहरीकहाँ गएर जानकारी गराएपछि घटना बाहिरिएको हो ।

सुर्खेतबाट काठमाडौँ आएकी उनलाई बसपार्कमा भेटेर मुगु घर भएका युवराज बडुवालले गेस्ट हाउस पुर्याएका थिए । उनले मुगु छाँयानाथ रारा नगरपालिका घर भएका हिक्मत नेपालीलाई फोन गरेर गेस्ट हाउसमा बोलाइ त्यही रात दुवैजनाले सामूहिक बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट खुलेका छ । त्यसको भोलिपल्ट बिहान थप ७ जनाले अर्को गेस्ट हाउसमा लगेर ती युवतीलाई बलात्कार गरेका थिए ।

बलात्कारमा संलग्न आरोपी मध्येका युवराज बडुवाल, हिक्मत नेपाली, मुगु घर भएका रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरी बुढा र अर्घाखाँची घर भएका गोपाल कुमार श्रीसलाई प्रहरीले पक्राउ गरेको छ ।

बलात्कारमा संलग्न भनिएका मुगुका हस्त नेपाली र चन्द्र साउद फरार रहेका छन् । फरारहरूको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदिप गिरीले जानकारी दिए।