January 27, 2022, Thursday
१३ माघ २०७८, बिहीबार

निर्मला र नन्कुन्नी हत्याकाण्डमा राज्यकै मिलेमतोको आशंका : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्याको घटनाको सत्यतथ्य बाहिर नआउनुले सो घटना राज्यकै मिलेमतोमा भएको शंका उब्जिएको बताएका छन्।

Advertisement

सोमबार निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै मंसिर ९ गतेदेखि माइतीघर मण्डलामा जारी अनिश्चितकालीन धर्ना र रिले अनशनमा बसेकाहरुलाई भेट्दै अध्यक्ष भट्टराईले घटना शंकास्पद भएको टिप्पणी गरे। उनले आजसम्म घटनाको न्यायपूर्ण छानविन नहुनु र सत्यतथ्य बाहिर नआउनुले घटनामा राज्यकै मिलेमतो भएको शंका उब्जिएको बताए।

सरकारले अपराधीलाई कारबाही गर्नुपर्ने उनले बताए । राज्य अपराधीको पक्षमा उभिनु र जनतालाई शान्ति सुरक्षा नदिनु गम्भिर गल्ती भएको भन्दै उनले अपराधीहरुको विरुद्धमा जनमत सिर्जना गर्नुपर्ने बताए।

विधवा महिला निर्मला कुर्मीको हत्या तथा ननकुन्नी धोबीको हत्या प्रकरणमा छानविन समितिले पेश गरेको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न र निर्मला कुर्मीको घटनाको छिटोभन्दा छिटो सुरुदेखि नै अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै बाँकेदेखि आएर पीडित परिवार र महिला अधिकारकर्मीहरुले माइतीघर मण्डलामा धर्ना गरिरहेका छन्।

महिला अधिकारकर्मी रुबी खानले आफुहरु महिनौदेखि न्यायका लागि धर्ना बसेको भएपनि सरकार आफुहरुको मागमा संवेदनशील नभएको बताइन्। उनले महिलालाई न्याय दिने सम्बन्धमा सरकार उदासिन रहेको बताइन्। धर्नारत महिला अधिकारकर्मीहरुले माग पुरा गर्न सरकार गम्भिर हुनुपर्ने बताएका छन्। माग पुरा नहुञ्जेल धर्नाको कार्यक्रम जारी रहने उनीहरुको भनाई छ।