September 16, 2021, Thursday
३१ भाद्र २०७८, बिहीबार

सुजिता मृत्यु प्रकरण: मृत्युको कारण ‘चोट पटक’ नभएको, भि–सेरा परीक्षण गरिँदै

चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा मृत फेला परेकी सुजिता भण्डारीको मृत्युको कारण ‘चोट पटक’ नभएको पोष्टमार्टमबाट खुलेको छ ।केन्द्रीय अनुसन्धान व्यूरो र चितवन प्रहरीले भण्डारीको मृत्युबारे संयुक्त रुपमै अनुसन्धान गरिरहेको अवस्थामा त्रिवि शिक्षण अस्पतालमा गरिएको पोष्टमार्टम रिपोर्टमा शरीरमा चोटपटक नलागेको पाइएको हो।

Advertisement

त्रिवि शिक्षण अस्पतालमा सुजिताको शवका पोष्टमार्टम गरिएको छ । पोष्टमार्टमबाट शरीरमा शरीरमा चोटपटक नदेखिएको चिकित्सकहरुले बताएका हुन् । ​पोष्टमार्टमको लिखित रिपोर्ट आउन बाँकी छ । अनुसन्धानमा संलग्न प्रहरीलाई चिकित्सकले शरीरमा ठुलो चोट नभएको तर, बायाँ हातमा ब्लेडले काटेको सामान्य चोट देखिएको जानकारी दिएका छन् । ब्लेडको चोट मृत्युको कारण नभएको चिकित्सकहरूको निष्कर्ष छ ।

चितवनस्थित ब्रह्मास्थानी सामुदायिक वनमा मृत फेला परेकी सुजिताको मृत्युको कारण चोटपटक नभएको देखिएपछि व्यूरोले उनको भिसेरा परीक्षणको तयारी गरेको छ। ‘उनको मृत्युको कारण पत्ता लगाउन अब भिसेरा परीक्षणको तयारी भएको छ’, केन्द्रीय अनुसन्धान व्यूरो स्रोतले जनाएको छ। प्रहरी स्रोतका अनुसार पोष्टमार्टमबाट सुजिताको ‘हाइमेन नच्यातिएको’ भेटिएको छ।

‘हाइमेन नच्यातिएको’ भेटिएपछि उनको बलात्कार नभएको भन्ने हुन्छ। व्यूरोका प्रमुख डिआइजी धिरजप्रताप सिंहले उनको मृत्युबारे थप अनुसन्धान भैरहेको बताए। पोष्टमार्टम रिपोर्ट आइसकेकाले उनको भिसेरा परीक्षण गराउनु पर्ने आवश्यकता रहेको पनि बताए।

भिसेरा परीक्षणका लागी प्रहरीले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) लाई अनुरोध गरेको छ। चितवनको राप्ती नगरपालिका–३ घर भएकी २३ वर्षीया सुजिताको शव आइतबार साँझ भेटिएको थियो । शव फेला परेको ठाउँभन्दा १५ मिटर पर मोवाइल भेटिएको थियो ।

घरबाट हिँडेको १० दिनपछि मृत फेला परेकी सुजिताको मृत्युको कारण खुलेको छैन् । केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी)को टिमले घटना अनुसन्धान गरिरहेका छन् । असार ११ मा बिहान ६ बजे घरबाट हिँडेकी सुजिताले त्यसैदिन दिउँसो दिदीलाई फोन गरेर आफु अपहरणमा परेको जानकारी गराएकी थिइन् ।