October 22, 2021, Friday
५ कार्तिक २०७८, शुक्रबार

ज्वाइँलाई छोरा भनेर नागरिकता दिने वडा अध्यक्ष सहित तीन पक्राउ

ज्वाइँलाई छोरा भनेर नागरिकताको प्रमाणपत्र दिन किर्ते काम गरेको आरोपमा दाङमा वडा अध्यक्ष सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

किर्ते नागरिकताको प्रमाणपत्र बनाएको आरोपमा दाङ देउखुरीको राजपुर गाउँपालिका – ७ का वडाध्यक्ष भीमबहादुर खड्कासहित त्यही वडाका भीमबहादुर कामी र उनकी छोरी सुशीला विकलाई पक्राउ गरिएको हो ।

भीमबहादुर कामीले उनका ज्वाइँ अर्जुन बिकलाई छोरा बनाएर नागरिकता दिएको र वडाले पनि सिफारिस गरेको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ । तर, नागरिकता बनाउँदा अर्जुनको नाम लिलाराम बिक राखिएको छ । अर्जुन सुशीलाका श्रीमान् हुन् । हाल उनी रोजगारीको सिलसिलामा विदेशमा छन् ।

नागरिकतबारे उजुरी परेपछि अनुसन्धान गर्दा यस्तो भेटिएको हो । नागरिकता २०७५ साल असोज ४ गते इलाका प्रशासन कार्यालय लमहीबाट जारी भएको थियो । नागरिकतामा ईलाका प्रशासन कार्यालय लमहीका प्रमुख प्रेमबहादुर खवासको हस्ताक्षर छ । यस कार्यमा भीमबहादुरकी छोरी सुशीला मुख्य मतियारको रुपमा संलग्न भएको पाइएको प्रहरीले जनाएको छ ।