मुक्तक

मुक्तक

तिलास्मी प्रभास

मुक्तक १
मलाई चोखो भाँडा र मन माझेको मन पर्दैन
विनाकारण पुङ न पुच्छर बाझेको मन पर्दैन
सबैको मानव अधिकार हुन्छ विनाअधिकार
कसैलाई कसैले प्रयोगगरी गाँजेको मन पर्दैन ।

मुक्तक २
यस्तो लाग्छ कि बिर्सिसकेँ हाँस्न सिकाउनू
यो मनभित्र प्रेम एक्लोपना मास्न मिसाउनू
चाँहिदैन उपहार हजुर मन भरिदिनू मायाले
तर्किन सजिलो गाह्राे छ प्रेम गाँस्न टिकाउनू ।

मुक्तक ३
झुल्दैनन् भित्ताहरू टाउको ठोकी बोलाऊँ तापनि
खुल्दैनन् ती तस्बिरहरू घण्टौँ रोई टोलाऊँ तापनि
सपनाले टोकेका विपनाहरू घाइते र शिथिल छन्
घुल्दैनन् सपनाहरू निद्रामा प्रेमले लोलाऊँ तापनि ।

मुक्तक ४
ती शठहरूलाई अघात प्रेमले मर्भमा र मनमा सधैं बोक्नुको के अर्थ
उनीहरूको भ्रष्ट मतिले विहल हुँदै आफ्नो पुर्पुरो ठोक्नुको के अर्थ
कर्मको फल भोग्नै पर्छ न त टारेर टर्छ त्यो न त अन्तै पारेर पर्छ त्यो
क्षान्ति नै उत्तम विकल्प नुलिलो आँसु अमिलो पारि रोक्नुको के अर्थ ।

मुक्तक ५
प्रज्ञाको उदय त्यहाँ हुन्छ जहाँ समाधि र शील हुन्छ
कुकर्मको फल लाशलाई झैँ ज्युँदै लुछ्ने चील हुन्छ
सांसारिक मोहको यो दलदलबाट उठ्न नसकेदेखि
मानवमन जन्म जन्मान्तर भवमै गाडिने खील हुन्छ ।

मुक्तक ६
मन आकाश खोज्छ तर पिंजडाको चरा भएको छ
हराभरा हुने ती धर्ती बाँजो र बुट्यान गरा भएको छ
सबै निदाएका छन् मोहको लाटो सिरक ओडेर लठ्ठ
कसले जगाउँछ हामीलाई देश कठै ! बरा भएको छ ।

मुक्तक ७
उठ्नुको मज्जा बेग्लै धेरै पटक लडेपछि
छुट्नुको मज्जा बेग्लै धेरै मटक मरेपछि
स्वर्थको तराजु कहिले तल कहिले माथि
चुट्नुको मज्जा बेग्लै धेरै चटक बढेपछि ।

मुक्तक ८
आकाश के राम्रो नखुलेपछि
फूलहरू के राम्रा नफुलेपछि
नबिर्सेकालाई सम्झनु पर्दैन
प्रेम त त्यो राम्रो नभुलेपछि ।

मुक्तक ९
नफल्ने फल बेमौसममै पनि पसाउँन सक्छ
कपुरको छेउमा पलास पनि बसाउँन सक्छ
पहेँलो पोतेपछि सुन झैँ लाग्छ पित्तल पनि
जङ्गलमुनि भए पहरा पनि रसाउँन सक्छ ।

मुक्तक १०
चामललाई उमालेपछि के गरोस् नछड्किएर
तेलमा पानी हालेपछि के गरोस् नपड्किएर
मान्छे नरपशु बन्छ सुसंस्कार र तालिमबिना
अस्थिर र बेहोसी मन के गरोस् नभड्किएर ।

मुक्तक ११
कसले उठाउन सक्छ खै मन बसे पछि
कसले निकाल्न सक्छ र मुटु फँसे पछि
संसारै कमजोर हुन्छ छुटाउन र जुटाउन
कसले फुकाउँछ दृष्टिको गाँठो कसे पछि ।

मुक्तक १२
झन् बुझ्यो झन् गाह्राे हुन्छ जिन्दगी
यथार्थमा बाच्दा तारो हुन्छ जिन्दगी
जिन्दगीको महत्त्व बुझेर अगि बढौँ
माझ्दै जानुपर्छ पारो हुन्छ जिन्दगी ।

मुक्तक १३
जन्मिने मर्ने र कति बाँच्ने ती समय र सालको ठेगान हुँदैन
जीवनमा तथाकथित दु:ख र सुखको जालको ठेगान हुँदैन
बाँचुन्जेल मर्ने विषयमा सोच्ने फुर्सद नै हुँदैन न मन लाग्छ
मर्ने त कसैलाई मन हुँदैन तैपनि त्यो कालको ठेगान हुँदैन ।

मुक्तक १४
जसले जे रोप्यो ऊ सँग त्यसैको बोट हुन्छ फलिदिन्छ
कतै मीठो फल फल्छ अनि कतै चोट हुन्छ गलिदिन्छ
उत्तम कर्मफलको संयोजनले जीवन उत्तम बन्छ नत्र
कतै कम कतै बढी मलिलो हुन्छ खोट हुन्छ ढलिदिन्छ ।

मुक्तक १५
हो जिन्दगी च्यातिन सक्छ तर सिउन सक्नुपर्छ
दु:ख पीडा र व्यवधानहरूलाई पिउन सक्नुपर्छ
नथाकिने त कहाँ हो र जिन्दगीको भारी बोक्दा
मर्नु त छदैछ तैपनि जबर्जस्ती जिउन सक्नुपर्छ ।

मुक्तक १६
न त मलाई तिम्रो थिति मन पर्यो
न त मलाई तिम्रो रिति मन पर्यो
मन नपरी नपरी पर्यो कसरी भनूँ
न त मलाई तिम्रो गीति मन पर्यो ।

मुक्तक १७
सबै नेताहरू नि अत्याचारी हुँदैनन्
सबै कर्मचारीहरू भ्रष्टाचारी हुँदैनन्
नमुना परीक्षण असफल पनि हुन्छ
सबै गृहस्थीहरू सर्वहारी नि हुँदैनन् ।

मुक्तक १८
जिन्दगीको पहाड चडेर नै थाकेकी छु गलाउन नआऊ
इतिहासको पाना सुरक्षित राखेकी छु चलाउन नआऊ
तिम्रो दयाको सिदा दान पर्दैन त्यसले मेरो छाक टर्दैन
भुसको आगोले मज्जाले पाकेकी छु जलाउन नआऊ ।

मुक्तक १९
निसंदेह निशर्त मैले तिमीलाई मन पराएँ
काय वाक र चित्त जे जे थिए सबै चढाएँ
उडिरहेँ आकाशमा कुहिरोको काग बनेर
उढ्दा उढ्दै त्यहीँ शून्य भएँ त्यहीँ हराएँ ।

मुक्तक २०
मान्छे यस्तो होस् कि उसको मुख हैन सधैँ मन हाँसोस्
अरूको दु:खमा साथ देओस् सधैँ आफ्नै धन मासोस्
सम्बन्ध बाट्दै हिँडोस् नहिँडोस् ढाट्दै अनि कुरा काट्दै
कुभलो नसोचोस् बरु सेवामा सधैँ आफ्नै तन नासोस् ।

मुक्तक २१
कोही दूध बेच्छन् कोही मासु बेच्छन्
कोही बुहारी अनि कोही सासू बेच्छन्
जमाना नै व्यवसायको छ हजुर के गर्नू
कोही हाँसो बेच्छन् कोही आँसु बेच्छन्

काठमाडौं-६, बौद्ध

Facebook Comments Box
Share This
  • 32
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    32
    Shares