विद्यार्थी खुला चौरमा पढ्न बाध्य

विद्यार्थी खुला चौरमा पढ्न बाध्य

सल्यान । गएराति आएको हावाहुरीले शारदा नगरपालिका–९ सुन्चौरको निम्न माध्यमिक विद्यालयको भवनको छाना उडाइदिएको छ। चार कोठे दुई भवनको छाना हावाले उडाएपछि विद्यार्थीहरू खुला आकाशमा पढ्न बाध्य भएका छन्।

गएराति करिब १२ बजेतिर आएको हावाले विद्यालयको छाना उडाएपछि साना बालबालिकाहरु चौरको धुलोमा बसेर पढ्न बाध्य भएको स्थानीय वेल्धर बुढा मगरले जानकारी दिए।

हावाले कार्यालयका महत्वपूर्ण कागजातसमेत उडाएको छ। कार्यालयका महत्वपूर्ण कागजात हराउदा प्रशासनिक कामसमेत प्रभावित भएको विद्यालय प्रशासनले जनाएको छ। गएरातिको हावाहुरीले स्थानीयको घरगोठमा समेत क्षति पुर्‍याएको छ।