‘प्रेमनाथ’को क्लाइमेक्समै ३० लाख खर्च, हेलिकप्टरको प्रयोग

‘प्रेमनाथ’को क्लाइमेक्समै ३० लाख खर्च, हेलिकप्टरको प्रयोग

काठमाडौं । अभिनेता गणेश बेल्वासेद्वारा निर्देशित फिल्म ‘प्रेम नाथ’को शुटिङ सम्पन्न भएको छ । अनौठो प्रेम कथामा आधारित ‘प्रेमनाथ’को ९० प्रतिशत शुटिङ सकिएको निर्देशक बेलवासे जानकारी दिएका छन् । बाँकी दश प्रतिशत शुटिङ छिटै गरिने उनले बताए ।

उनका अनुसार ‘प्रेम नाथ’मा केही दृष्य मात्र बाँकी छन् । शुटिङ लगभग सकिएको उनको भनाइ छ । अब प्रारम्भीक सम्पादनको काम पनि शुरु भएको निर्देशक बेलबासेले बताए ।
‘प्रेम नाथ’को शुुटिङ कपिलवस्तु, दाङ, रोल्पा लगायतका जिल्लामा गरिएको छ । नायिकाको रुपमा कृति गौतमले ‘प्रेम नाथ’बाट डेब्यू गरेकी छन् ।

चलचित्रमा कृतिसँगै नीर शाह, गणेश बेलवासे, सुरवीर पण्डित, कमल गाउँले, राज थापा, मियुम जिरेल, शेखरजंग मल्ल, सम्झना भेटवाल, पूजा रिमाल लगायतको अभिनय छ ।

निर्देशक बेलवासे ‘प्रेम नाथ’मा मुख्य खलनायकको रुपमा देखिनेछन् । शुटिङमा धेरै मेहनत र खर्च भएको निर्देशक बेलवासेले बताए । लुम्बिनीमा भएको क्लाइमेक्स सिनमा हेलिकोप्टर प्रयोग गरिएको छ । क्लाइमेक्स सिनमा झण्ड तीस लाख खर्च भएको निर्देशक बेल्वासेले बताए ।

‘प्रेम नाथ’ नेपाल र भारतमा रिलिज हुनेछ । आगामी जेठतिर रिलिज गर्ने लक्ष्य छ । नेपालमा चलचित्र वितरणको जिम्मा गोपाल कायस्थले लिएका छन् । भारतमा वितरणको जिम्मा भने बर्चस्व इन्फ्राटेक प्रालिका उमेश सिंहले लिएका छन् । चलचित्रको कार्यकारी निर्माता कपिलप्रसाद द्वा छन् । ‘उहिले बाजेको पालामा’ निर्माण गरेका बेलवासेले दोस्रो फिल्म ‘प्रेम नाथ’ बनाएका हुन् । फिल्मका सहनिर्माता बसन्तराज भट्ट हुन् ।

चलचित्रमा द्वन्द्व निर्देशन भरत क्षेत्रीको छ । सन्तोष श्रेष्ठ, भुपु पाण्डे र एसडी योगीले संगीत दिएका छन् भने नृत्य रजिन पाठकको छ । चलचित्रका गीतहरूमा राजेश पायल राई, भुपु पाण्डे, सूची पन्थी र बेनुका राईको स्वर छ ।