अल्टिच्युड एयरको हेलिकोप्टर धादिङमा दुर्घटना

अल्टिच्युड एयरको हेलिकोप्टर धादिङमा दुर्घटना

काठमाडौं । गोर्खाबाट काठमाडौं फर्किँदा सम्पर्कविहीन भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर धादिङको सत्यवती गाउँपालिकास्थित वत्सला मावि नजिक हेलिकोप्टर फेला परेको छ । हेलिकोप्टर भेटिएको भनिएको क्षेत्र धादिङ र नुवाकोटको सीमा क्षेत्रमा पर्दछ । पाइलट निश्चल केसीले उडाएको हेलिकोप्टरमा ७ जना सवार थिए । उनीहरुको अवस्था कस्तो छ भन्ने खुलेको छैन ।

स्थानीयले हेलिकोप्टर दुर्घटना भएको भनेर खबर गरेको प्रहरी स्रोतले बतायो । तर प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले हेलिकोप्टरमा कति जना सवार थिए र कस्तो अवस्थामा फेला परेको हो भन्ने विस्तृत विवरण नआएको बताए ।

गोर्खाको सामागाउँमा पर्यटक छाडेर, त्यहाँबाट बिरामी ल्याएर हेलिकोप्टर काठमाडौं फर्किँदै गर्दा सम्पर्कविहीन भएको थियो । गोर्खाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार करिब २५ माइल उडेपछि हेलिकोप्टर सम्पर्कविहीन भएको थियो ।