ऐतिहासिक बिस्केट जात्रा पहिलो पटक रोकिने भयो – EsancharPati
ऐतिहासिक बिस्केट जात्रा पहिलो पटक रोकिने भयो

ऐतिहासिक बिस्केट जात्रा पहिलो पटक रोकिने भयो

२६ चैत्र, भक्तपुर । कोरोना भाइरसको सङ्क्रमणले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा नेपालको धार्मिक, सांस्कृतिक र परम्परागत क्षेत्र पनि सम्भावित सङ्क्रमणको मारमा परिरहेको छ । नयाँ वर्षको आगमनसँगै आठरात नौदिनसम्म भक्तपुरमा भव्यरुपमा मनाइने नेपालको एक ठूलो जात्रा बिस्केट जात्रा पनि कोरोना भाइरसकै कारण रोकिन पुगेको छ । यो जात्रा इतिहासमै पहिलो पटक रोकिएको इतिहास र संस्कृतिका जानकारहरुको भनाइ छ । विश्वमै फैलिएको महामारीको सम्भावित सङ्क्रमण नेपालमा पनि रोक्न सरकाले देशैभर लकडाउनको घोषणा गरेको र हजारौँको सङ्ख्यामा उपस्थित हुनुपर्ने जात्रामै पनि सङ्क्रमणको खतरा रहने भएकोले यसवर्ष यो जात्रा औपचारिक पूजामा मात्र सीमित हुने भएको हो ।
नेपाली साहित्य, संस्कृतिका अन्वेषक एवं संस्कृतिविद् सूर्यविनायक निवासी ८६ वर्षीय तेजेश्वरबाबु ग्वंग विश्वप्रसिद्ध ऐतिहासिक बिस्केट जात्रा रोकिएर औपचारिक पूजामा मात्र सीमित हुन पुगेको इतिहासमै यो पहिलो पटक हो भन्नुुहुन्छ । उहाँले थप्नु भयो, “विगतमा भूकम्प, विपद् या जस्तोसुकै सङ्कटको समयमा पनि यो जात्रा रोकिएन तर यसवर्ष कोरोना भाइरसको सङ्क्रमण रोक्न पनि हजारौँको सहभागितामा रथ तान्ने र लिङ्गो उठाउने जस्ता कार्य हुने भएकाले रोकिएको बताउनुभयो ।”

रथ बनाएर भैरवको मूर्तिलाई रथमा राखी विधिवत् पूजा गर्ने, भित्र्याउने र ल्यासिंखेलमा सानो प्रतीकका रुपमा दुई चारजनाले लिङ्गो उठाएर परम्परा कायम राख्नुपर्ने उहाँ बताउनुहुन्छ । भैरवको रथ तान्दैगर्दा पल्टिएपछि मर्मत गरेर तान्ने, लिङ्गो उठाउँदा भाँचिए अर्को लिङ्गो उठाउने परम्परा रहेको बताउँदै उहाँ इतिहासलाई मर्न दिन नहुने बताउनुहुन्छ ।

यसैगरी भक्तपुरका इतिहास तथा पुरातत्वविद् डा पुरुषोत्तमलोचन श्रेष्ठ इतिहासमा बिफर, हैजा रोगको महामारी हुँदा पनि नरोकिएको बिस्केट जात्रा यसवर्ष कोभिड–१९ ले अवरुद्ध पारेको बताउनुहन्छ । उहाले भन्नुभयो,’नेपाल संवत् ७४१ मा चैत शुक्ल पूर्णिमाकै दिन भैरवको रथ पल्टिएको र यसबाट ठूलो अनिष्ट हुन्छ भनेर टोलटोलबाट पूजा एवं बलि तथा सरकारी क्षमापूजा गरिएको तथ्य ऐतिहासिक राष्ट्रिय अभिलेखालयमा उल्लेख भएको बताउँदै जात्रा नै रोकिएर पूजामा सीमित गर्नुपरेको भने यो पहिलो घटना भएको हो ।’

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सर्वपक्षीय छलफल गरी अहिलेको विषम परिस्थितिमा जात्रा पर्वलाई औपचारिक पूजामा मात्रै सीमित गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

Share This
  • 19
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares