समृद्ध लिस्तीकोट निर्माण अभियान उग्रचण्डी भगवति गुरुयोजना सार्वजनिक

समृद्ध लिस्तीकोट निर्माण अभियान उग्रचण्डी भगवति गुरुयोजना सार्वजनिक

काठमाडौं, ८ । समृद्ध लिस्तीकोट निर्माण अभियान उग्रचण्डी भगवति गुरुयोजना सार्वजनिक गरिएको छ ।

लिस्तीमाई गुठी सेवा समिति भोटेकोशी गाँउपालिका–१ सिन्धुपाल्चोकले आईतवार रिपोर्टर्स क्लब नेपालमा गरेको कार्यक्रममा गुरुयोजना सार्वजनिक गरिएको हो ।

सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाँउपालिका वडा नम्बर–१ मा अवस्थित् लिस्तीकोट धार्मिक, ऐतिहाँसिक, पुरातात्विक र सांस्कृतिक दृष्टिकोणले जिल्लाकै एक महत्वपुर्ण स्थल हो । लिस्तीकोट क्षेत्रमा रहेको उग्रचण्डी लिस्तीमाई भगवती मन्दिरलाई केन्द्रमा राखेर यस भेगकै सम्पुर्ण धार्मिक ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाहरुलाई समेटेर नेपालकै एक नमुना पर्यटकीय स्थल निर्माण गर्ने पवित्र उद्देश्यकासाथ उग्रचण्डी भगवती गुरुयोजनाको निर्माण गरिएको आयोजकको दाबी रहेको छ ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री तथा प्रतिनिधिसभा सिन्धुपाल्चोक क्षेत्र नम्बर एकका सांसद् अग्नि सापकोटाले सार्वजनिक गरिएको गुरुयोजना अग्रगामी विकासको प्रारुप रहेको बताएका छन । कृषि विकास नै नेपालको विकासको आधार भएपनि धार्मिकस्थल तथा पर्यटकीय स्थलको पनि प्रमुख भुमिका रहने भन्दै उनले सिन्धुपाल्चोक एक ऐतिहाँसिक जिल्ला भएको स्मरण गराए ।

लिस्तीकोट बिकासका लागि असिमित सम्भावना बोकेको क्षेत्र रहेको बताउदै उनले भुकम्पपछि बन्द रहेको तातोपानी नाका चाँडै नै खुल्नेसमेत जानकारी गराएका छन ।

चिनियाँ सरकार तातोपानी नाकालाई भू–गोलको कारण देखाउदै बन्द गर्ने मनस्थितिमा पुगेपनि आफ्नो पार्टीको सहकार्यमा उक्त नाका खुलाउन आफुहरु सफल भएकोपनि उनको दाबी रहेको थियो । आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन भ्रमणको अवसरमा राष्ट्रपति सि जिङपिङसंगको वार्ताको माध्यमबाट आफुहरु सो मार्ग खोल्न सफल भएको उनले जानकारी गराए ।

करोडौं राजस्व उठने तथा नेपाल र चीन जोड्ने नाकाको हिसाबले सिन्धुपाल्चोकले गर्विलो ईतिहाँस बोकेको उनको भनाई थियो । आफहरुले चुनावको समयमा जनतासंग गरेका बाचाहरु पुरा गर्दे गरेको जानकारी गराउदै उनले चीनतर्फ निर्माणको कार्य सम्पन्न हुने अवस्थामा रहेपनि नेपालतिर भने आशातित कार्य हुन नसकेको गुनासो पोखे ।

समृद्धिको पहिलो पाईलाअनुरुप नै यो गुरुयोजनाको निर्माण भएको बताउदै उनले लिस्तीकोट निकै नै पर्यटकीय सम्भावना बोकेको क्षेत्रको रुपमा विकास गर्न आवश्यक रहेको जिकिर गरे ।

त्यस्तै कार्यक्रममा बोल्दै पुर्वन्यायाधिवक्ता मुक्ति प्रधानले लिस्तीकोट एक धार्मिक तथा साँस्कृतिक पर्यटन बोकेको क्षेत्र रहेको धारणा राखेका थिए । प्रस्तावित गुरुयोजनाअनुरुप लिस्तीकोटको विकासमा जोड दिनसके समग्र सिन्धुपाल्चोकनै यसबाट प्रभावित हुने उनको धारणा थियो ।

राज्यले लिस्तीकोटको पहिचान र गौरवालाई चिनेर अगाडी बढ्न आवश्यक रहेको बताउदै उनले राज्यले नजिकको दुरीबाट हेर्नुपर्ने बताए ।

त्यस्तै, कार्यक्रममा बोल्दै भोटेकोशी गाँउपालिकाका अध्यक्ष राजकुमार पौडेलले गुरुयोजनालाई कसरी सफल बनाउने भन्ने कुरा महत्वपुर्ण रहेको बताएका छन । आफुहरुसंग धेरैनै धार्मिक तथा पौराणिक स्थलहरु रहेको बताउदै उनले त्यसबाट लाभ लिन सबैले आ–आफ्नो स्थानबाट सहयोग र प्रचार–प्रसारमा जोड दिन आवश्यक रहेको आंैल्याए ।

त्यस्तै कार्यक्रममा बोल्दै नेकपाका नेता सरल सहयात्री पौडैलले भोटेकोशी गाँउपालिका तातोपानी नाकाले मात्र प्रसिद्ध नभएर थुपै्र ऐतिहासिक तथा धार्मिक स्थलले भरिपुर्ण गाँउपालिका रहेका बताए ।

जिल्लाकै पहिलो स्थानमा रहने गरि जलयात्रा, जलबिद्युत र पर्यटनको बिकासको दृष्टिकोणबाट सम्पन्न भूगोल रहेको उनको भनाई थियो । स्थानीय तहले पाएको अधिकारको प्रयोग गर्दे उक्त क्षेत्रको शैक्षिक विकास अवको अग्रगामि बिकास रहेको उनको भनाई थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै ई.पदमलाल श्रेष्ठले सम्पन्न गुरुयोजना बजेट अभावको कारण अलपत्र नपारोस भनि सबैको ध्यान जान आवश्यक रहेको जानकारी गराए । ‘सार्वजनिक गुरुयोजनामा कुनै कमीकमजोरी हुन सक्छन, तर तीनै कमजोरीहरुलाई कारण बनाएर आफुहरु पछि हटन’ नहुने उनको जिकिर छ ।

प्रस्तावित गुरुयोजनाले लिस्तीकोटको मात्र नभएर समग्र सिन्धुपाल्चोकको विकासमा अहम योगदान पुर्याउने उनको भनाई छ । बनि नसक्दै भत्किरहेका पुलहरुजस्तै गुरुयोजना नबनोस भन्दै उनले यस्ता योजना निर्माणबाट ईतिहाँसको निर्माण हुनेपनि प्रष्टाए ।

प्रस्तावित गुरुयोजनालाई त्रिकोणात्मक रुपमा अगाडि बढाउने आफुहरुको लक्ष्य रहेको बताउदै उनले बजेटको कारण उक्त कार्य अहिलेलाई स्थगित रहेको सुनाए ।

त्यस्तै कायैक्रममा बोल्दै भोटेकोशी गाँउपालिकाका प्रशासकीय अधिकृत मोहनप्रसाद निरौलाले गाँउपालिकाको विकासमा निकै नै महत्वपुर्ण कार्यको थालनी भएको बताए ।

राष्ट्र निमार्णमा यस्ता गुरुयोजनाहरुले महत्वपुर्ण योगदान दिने बताउँदै उनले सबै मिलेर योजना सम्पन्न गर्न आवश्यक रहेको स्पष्ट पारे । उनले भने,‘यस्ता योजनाहरुले सिन्धुपाल्चोकलाई मात्र नभएर पुरा देशमा राम्रो प्रभाव पर्न जान्छ । यो गाँउपालिकाको विकासमा एउटा ईटा थप्ने कार्य हो।’

त्यस्तै कार्यक्रममा बोल्दै भोटेकोशी गाँउपालिकाका वडा नम्बर १ का अध्यक्ष मुख्य शेर्पाले लामो समयदेखि गुरुयोजना निर्माणको कार्य आज आएर सम्पन्न भएको सुनाए ।

उनले भने,‘अब यस्को कार्यान्वयनमा लाग्नु सबैको कर्तव्य हो । हामी सबै मिलेर अघि बढ्नुपर्छ ।’ सरकारले उपयुक्त बजेट निर्धारण गरिदिए गुरुयोजना सफल हुनेमा कुनै द्धिबिधा नरहेको उनको भनाई थियो । गुरुयोजननालाई तस्विरमामात्र नभएर अब काममा पनि देखाउनुपर्ने स्पष्ट पारे ।

पार्टीगत रुपमा भन्दापनि जनताको दैनिकी र आवश्यकत्तामा रहेर अबको विकास गर्नुपर्नेमा उनले जोड दिए । उनले थपे,‘गुरुयोजना सफल बनाउन तीनै तहका सरकारले आवश्यक बजेट दिनुपर्छ ।’

त्यस्तै कार्यक्रममा बोल्दै भोटेकोशी गाँउपालिकाकी उपाध्यक्ष दामुटी लामाले आफूहरुको गाँउपालिका एक ऐतिहाँसिक तथा धार्मिक सम्भावना बोकेको क्षेत्र रहेकाले उक्त क्षेत्रबाट राज्यले निकैनैै लाभ लिनसक्ने धारणा राखेकी थिईन् ।

आफुहरुले देखेको लिस्तीकोटको विकासको खाका तयार भएको र अब यसको कार्यान्वयनमा जोड दिनुपर्ने समय आएको बताईन् । पर्यटनको प्रचुर सम्भावना रहेको बताउदै उनले जनताले प्रत्यक्ष रोजगारका अवसरपनि यो गुरुयोजनासंगै जोडिएर आउने र जनताले प्रत्यक्ष रोजगारीपनि पाउनेमा आफु आशावादी रहेको उनको बुझाई छ ।

त्यस्तै कार्यक्रममा बोल्दै लिस्तीमाई गुठी संस्थानका अध्यक्ष चमेरे प्रधानले गुठी संस्थाको तर्फबाट सबैमा गुरुयोजना सफल पार्नमा सहयोग र सद्भावको आवश्यकत्ता औल्याए ।

त्यस्तै कायैक्रममा बोल्दै लिस्तीमाई गुठी संस्थानका कोषाध्यक्ष शंकर प्रधानले फ्रान्सका अनुसन्धानकर्ता तथा लेखक सिँल्भा लेभिले फ्रान्सेली भाषामा लेखेको पुस्तक ‘नेपाल हिन्दु राज्यको ईतिहाँसको पहिलो खण्ड’ मा समेत लिस्तीकोटको ईतिहासको बारेमा समेत प्रष्ट पारेको धारणा राखेका थिए ।

सन् १९०५ मा प्रकाशित उक्त पुस्तकमा नेपालको बिभिन्न ईतिहाँस समेटेको र जसमा लिस्तीकोटको समेत चर्चा भएको कारण यो क्षेत्रलाई कुटनीतिक दृष्टिकोणले समेत चासोको स्थान रहेको उनको भनाई थियो ।

कार्यक्रमको अवसर पारेर समृद्ध ‘लिस्तीकोट निर्माण अभियान उग्रचण्डी भगवती गुरुयोजना’ नामक पुस्तकको पनि बिमोचन गरिएको थियो ।