अण्डर १९ विश्वकप क्रिकेट छनोट प्रतियोगिता- नेपालले सिङ्गापुरलाई २१७ रनले हरायो

अण्डर १९ विश्वकप क्रिकेट छनोट प्रतियोगिता- नेपालले सिङ्गापुरलाई २१७ रनले हरायो

कप्तान रोहित पौडेलको ९५ रनको मद्दतले नेपालले बनाएको २८२ रनको जवाफमा सिङ्गापुरले ३१ ओभरमा ६५ रनमात्रै बनाएको थियो।
एशियाका छ राष्ट्रको सहभागिता रहेको ऊक्त प्रतियोगिताको विजयी टोलीले सन् २०२० को १९ वर्षमुनिका खेलाडीहरूको विश्वकपमा खेल्ने छ।
आइसीसी यू१९ विश्वकप सन् २०२० को ज्यानुअरी र फेब्रुअरीमा दक्षिण अफ्रिकामा हुँदैछ। सो विश्वकपमा अफगानिस्तान, अस्ट्रेलिया, बाङ्ग्लादेश, इङ्गल्याण्ड, भारत, न्यूजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इंडिज र जिम्बाबेले सोझै खेल्न पाउँछन्।

अन्य पाँच राष्ट्र भने क्षेत्रीय छनोट प्रतियोगिताबाट छनोट हुन्छन्। अफ्रिकाबाट नाइजेरिया छनोट भइसकेको छ भने एशियाबाट मलेशियामा जारी प्रतियोगिताको विजेता छनोट हुनेछ।
नेपालको ब्याटिङको सुरुआत गतिलो भएन। रित गौतम र आशिफ शेख १८ रनमा आउट भयका थिय। तर पवन सर्राफ र कप्तान पौडेलले पारी समालेका थिय। सर्राफ ४६ रनको व्यक्तिगत रनमा आउट हुँदा नेपालले एक सय रन बनाइसकेको थियो। उनले पौडेलसँग ९० रनको साझेदारी गरेका थिए।

रशिद खान र कमलसिंह ऐरीले ४८ रन बानाय र पौडेलसँग ७७ रनको साझेदारी गरे।
ऐरीले १८ बलमा तीन छक्का प्रहार गर्दै ३१ रन बनाए भने पौडेल ९५ रन बनाएर आउट भए। कप्तानी इनिङ खेलेका उनले १०५ बल खेल्दै सात चौका र एक छक्का प्रहार गरेका थिए।

कुशल मल्लले दुई विकेट लिदाँ अरू दुई खेलाडी रन आउट भएपछि सिङ्गापुर २९ रनमा चार विकेटको स्थितिमा पुग्यो। नेपालका लागि पवन सर्राफले तीन, सूर्य तामाङले दुई र रशिद खानले एक विकेट लिए।सिङ्गापुरबाट सबैभन्दा धेरै रन इशान पल सानेले बनाएका थिए। उनले ५४ बलमा २८ रन बनाए। साइहर्ष भेनुगोपालले १८ रन बनाए।नेपालले भोलि यूएईसँग खेल्नेछ।

तेन्दुलकर र अफ्रिदीको कीर्तिमान तोड्ने नेपालका रोहित पौडेल नेपालका उदाउँदा किशोर खेलाडी पौडेलले ज्यानुअरीमा यूएईविरुद्ध अर्धशतक बनाउँदा विश्व क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडी बनेका थिए। उनले त्यसबेला विश्व क्रिकेटका दुई अब्बल खेलाडी भारतका सचिन तेन्दुलकर र पाकिस्तानका शाहीद अफ्रिदीको कीर्तिमान तोडेका थिए।