म्याद सकिएका सडक विस्तार आयोजनाहरुको म्याद एक वर्ष थप

म्याद सकिएका सडक विस्तार आयोजनाहरुको म्याद एक वर्ष थप

काठमाडौं । काठमाडौंमा म्याद सकिएका सडक विस्तार आयोजनाहरु अर्को एक वर्ष लम्बिने भएका छन् । विस्तारको काममा ढिलाई भइहरँदा सरकारले त्यसमा आफ्नो पक्षको पनि कमजोरी रहेको र कतिपय विषय अदालतका कारण अन्योलमा रहेको भन्दै समयावधि सकिएका आयोजनाहरुको म्याद अर्को एक वर्षका लागि थपिएको हो ।

सडक विभागकाअनुसार कलंकी, नागढुंगा खण्डको म्याद पनि एक वर्ष थपिएको छ । यो खण्डमा चारवटा उपखण्डमा विभाजन गरेर निर्माणको काम भइरहेको छ । काठमाडौंमा अहिले धेरै सडक विस्तारका आयोजनाहरुमा ढिलाई भइरहेका छन् । एक वर्ष म्याद थपेर ठेकेदार कम्पनीहरुलाई अर्को मौका दिइएको हो ।

यो सडकको सबै खण्डमा नेकपाका अध्यक्ष पुषपकमल दाहाल ‘प्रचण्ड’का घरबेटी शारदाप्रसाद अधिकारीको शैलुङ कन्सट्रक्सनको विभिन्न ज्वाइन्टभेन्चर कम्पनीसँग ठेक्का छ । यो सडक विस्तारमा भएको ढिलासुस्ती र लापर्वाहीले स्थानीयलाई धुलो मात्र खुवाएको छैन, यात्रुलाई त्यतिकै सास्ती दिएको छ ।

घरजग्गाको मुआब्जाको विवादले काम सुस्त भएको भएको छ । काम गर्न सहज वातावरण भएका स्थानमा पनि सडकको हालत उस्तै छ ।कलंकीदेखि ३ किलोमिटर अघिसम्मको सडक शर्मा(शैलुङ(कान्छाराम जेभीले जिम्मा पाएको छ । २०७४ साल असोज मसान्तसम्म यो खण्डको निर्माण सकिनुपथ्र्यो । त्यसपछिको तीन किलोमिटर सडक लुम्बिनी, शैलुङ साप जेभीको जिम्मामा छ ।

चाबहिल, साँखु खण्डको पनि म्याद थपिएको छ । यो खण्डमा पनि विस्तारको काम सुस्त छ । घरजग्गाको मुआब्जा विवाद लगायतका समस्या देखाउँदै काम नभएपछि यो खण्डममा वर्षाका समयमा हिँड्न नसकिने अवस्था भएको छ । अब एवर्षसम्म यो खण्डमा पनि यात्रुले सास्ती भोग्ने पक्का भएको छ ।

११ दशमलव ४६ किलोमिटरको यो खण्डमा मुआब्जा विवादका कारण धेरै क्षेत्रमा विस्तारको काम नै हुन सकेको छैन । कतै आंशिक मात्रै काम भएको छ । अर्को हरिसिद्धि र गोदावरी सडकको पनि म्याद एकवर्ष थपिएको छ । यसका कारण यो क्षेत्रमा पनि एक वर्षसम्म सडकमा अस्तब्यस्तता कायमै रहनेछ ।

ढोलाहिटी,चापाँगाउँ सडकमा पनि ठेकेदारलाई अर्को एकवर्षको चिठ्ठा परेको छ । यो खण्डमा पनि अबको १२ महिनासम्म स्थानीयले सास्ती भोग्नुपर्ने पक्कापक्की भएको छ । सडक विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठ मुआब्जाबारे अदालतमा विचाराधीन मुद्धाका फैसला समयमै नआउँदा सडक विस्तारका काममा समस्या भइरहेको बताउँछन् ।