बम दिदिबहिनीले भनें :: ‘हामी निर्दोष छौ, दोषी प्रमाणित गरे जेल जान तयार छौं’

बम दिदिबहिनीले भनें :: ‘हामी निर्दोष छौ, दोषी प्रमाणित गरे जेल जान तयार छौं’

काठमाडौं, १४ माघ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार हत्या काण्डमा आफूहरुको कुनै संलग्नता नरहेको बम दिदिबहिनीले स्पष्ट पारेका छन् । उनीहरुले यो प्रकरणमा दोषी प्रमाणित गरे आफूहरु जस्तोसुकै सजाय पनि भोग्न तयार रहेको बताए ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले आफूलाई मानव अधिकारकर्मी भन्नेहरुले चरित्र हत्या गर्नेगरि स्थलगत अध्ययन तथा अनुशन्धान नै नगरी गलत प्रतिवेदन बाहिर ल्याएको पनि आरोप लगाए । निर्मलाकी साथीसमेत रहेकी रोशनी बमले भनिन्,‘निर्मला मेरी साथी हुन् । यो प्रकरणमा मिडियाले पनि सत्य कुरा बाहिर ल्याउनुपर्छ ।’

प्रहरी अनुशन्धानले आफूहरुलाई दोषी सावित गरि नसकेको अवस्थामा असोज महिनातिर नेपाल मानव अधिकार संगठनको नामबाट चरित्र हत्या गर्नेगरि र आफूहरुलाई उक्त हत्याको मतियार भन्दै प्रतिवेदन बाहिर ल्याएको भन्दै उनले कडा आक्रोश पोखिन् ।

उनले भनिन्,‘नेपाल मानव अधिकार संगठनको नामबाट हाम्रो चरित्रहत्या गर्नेगरि र हामीलाई त्यस हत्याको मतियार भन्दै उक्त संगठनका अध्यक्ष ईन्द्र प्रसाद अर्याल, संस्थाका महासचिव महामुनीश्वर आचार्य र कञ्चनपुर जिल्ला अध्यक्ष त्रिभुवन भट्टले प्रतिवेदन सार्वजनिक गरे।’

अर्यालले आफूहरुसँग एक वचन पनि नसोधेको उनले जिकिर गरिन् । उनले भनिन्,‘न हामीलाई भेटे, न हाम्रा छिमेकीहरुलाई नै सोधे यसलाई कसरी प्रमाणित गर्छन् ? मेरी दिदी अहिलेसम्म त्यो होटेलमा गए नगएको उनीहरुले बुझ्न समेत चाहेनन् ।’

आफ्नो प्रतिवेदनमा दावी गरेको कुरालाई सार्वजनिक रुपमा पुष्टि गर्नु पर्ने नेपाल मानव अधिकार संगठन र यसका पदाधिकारी इन्द्र अर्याल, महामुनिश्वर आचार्य र त्रिभुवन भट्टको दायित्व रहेको उनको भनाई छ ।

रोशनीले भनिन्,‘उनीहरुको प्रतिवेदन सार्वजनिक भएपछि हामी वहिष्कृत, अपमानित र नारकीय सामाजिक जीवन विताउन वाध्य भएका छौं । हाम्रो पढाई छुटेको छ, सामाजिक वेइज्जति भएको छ । आफन्त र विद्यालयका साथीहरुले हामीलाई अपराधी र अनैतिक चरित्रका मानिसका रुपमा हेर्ने गर्न थालेको छन। उक्त झुटो प्रतिवदेनले गर्दा हाम्रो व्यक्तिगत जीवनमा पारेको क्षतिको क्षतिपूर्ति हुनुपर्छ । उनीहरुको प्रतिवेदनले गर्दा हामीमाथी परेको शारिरिक, मानसिक र सामाजिक क्षतिको क्षति पूर्ति दिलाइ दिन आम सञ्चार माध्यम, पत्रकार दाजुदिदी, मानव अधिकारकर्मी, महिला अधिकारकर्मी र बालअधिकारकर्मीहरु समक्ष हार्दीक अनुरोध गर्दछु ।’

पत्रकार सम्मेलनको सुरुमै उनले आफूहरु घट्नाक्रम बताउनको लागि नभएर आफ्नो कुरा राख्नको लागि आएको स्पष्ट पारेकी थिईन् । उनले भनिन्,‘ईन्द्र अर्यालले काठमाडौैंको एक घरको कुनामा बसेर प्रतिवेदन लेखेका हुन् । फेस–टु–फेस कुरा गर्न हामीले आज उनलाई यही पत्रकार सम्मेलनमा बोलाएका थियौं । तर, उनी आएनन् । यदि उनी सत्य थिए भने उनी आउनुपर्दथ्यो । एकोहोरो प्रतिवेदन बनाउने काम भयो । अर्याल सही छन भने प्रमाण दिनुपर्यो ।’

पत्रकारले उक्त दिन निर्मला तपाईको घरमा आउँदा के–के कुरा भयो ? त्यो दिनको बारेमा केही बताईदिनुहोस भनेर सोधेपछि रोशनीले भनिन्,‘त्यो दिन निर्मला मेरो घरमा आएकी थिई । होमवर्क गरेर फर्किएकी थिई । उ आउँदा हातमा ग्रिज लागेको थियो । सावुन पानीले धो भनें । अनि हामीबीच पढाईसम्बन्धी कुरा भयो ।’

प्रहरीले अनुसन्धानका लागि भन्दै आफूहरुलाई दुईपटक पक्राउ गरेको सुनाउँदै उनले थपिन्,‘म ७ दिन र दिदी २० दिन हिरासतमा बस्यौं । प्रहरीले हामीमाथि अनेक तरहले अनुसन्धान गर्यो । कतिपय बेला आरोप स्वीकार गर्न शारीरिक र मानसिक यातना समेत दियो ।’

प्रहरीले आफूहरुको मोवाइलको कल डिटेलपनि चेक गरेको र एक महिनासम्म दिदीको मोवाइल प्रहरीको नियन्त्रणमै राखेको तर, कुनैपनि कोणबाट घटनामा आफूहरुको संलग्नता पुष्टि नभएपछि प्रहरीले छोडेको उनले स्पष्ट पारिन् ।

तर, प्रहरीले घट्नामा आफूहरुको संलग्नता पुष्टि हुने कुनै तथ्य फेला नपरेको भन्दै छोडे पनि समाज, राष्ट्रिय मिडिया र सामाजिक सञ्जालले आफूहरुलाई अपराधीको रुपमा चित्रित गर्न नछोडेको उनको गुनासो छ ।

अनुशन्धानको लागि काठमाडौंबाट अहिलेसम्म प्रहरीको ७ टोली कञ्चनपुर गैसकेको सुनाउँदै उनले आफूहरु दोषी भएको भए प्रहरीले किन प्रमाणित नगरेको त भन्दै प्रश्न गरिन् ।

कार्यक्रममा दिदी बबिता बमले आफूहरु दोषी प्रमाणित भए जेल जान तयार रहेको बताईन् । उनले थपिन्,‘दोषी को हो भनेर राज्यले छानबिन गर्ने हो । यो सरकारको काम हो । ईन्द्रप्रसाद अर्यालले आफ्नो प्रतिवेदनमा लेखेका सबै कुरा झुटो छन् । उनले झुटो कुरा लेखेर हाम्रो बद्नाम गरे । एउटा कुरा पनि सत्य छैन । यदि उनले लेखेको कुरा प्रमाणित भए हामी जेल जान तयार छौं ।’

बिना आधार र प्रमाण, र सत्य तथ्य नबुझी एकपक्षीय रुपमा आफूहरुको चरित्र हत्या गर्ने प्रतिवेदन ल्याएको नेपाल मानव अधिकार संगठनविरुद्ध अदालत जाने समेत उनले चेतावनी दिईन् ।

साँचो कुरा के हो ? त भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भनिन्,‘कञ्चनपुरमा गएर सोध्नुहोस । छरछिमेकलाई थाहा हुन्छ ।’ आफूले निर्मला पन्तलाई राम्रोसँग नचिनेको पनि उनले स्पष्ट पारिन् । उनले भनिन्,‘निर्मला हाम्रो घरमा एक÷दुई चोटी आएकी हुन् । तर, म राम्रोसँग चिन्दिन् ।’

त्यस्तै कार्यक्रममा रोशनी र बबिताकी आमा ईन्द्रा बमले यो प्रकरणमा आफ्ना छोरीहरुको नाम मुछेर चरित्र हत्या गर्ने काम भएको गुनासो पोखिन् । उनले भनिन्,‘निर्मला पनि मेरी छोरी हुन् । उनले न्याय पाउनुपर्छ । दोषी पत्ता लगाउनुपर्छ ।’

कार्यक्रममा सामाजिक अभियन्ता सावित्री सुवेदीले बम दिदिबहीनीहरुलाई मानव अधिकारवादीहरुले यो प्रकरणमा मुछेर चरित्र हत्या गर्न खोजेको भन्दै सत्य, तथ्य छानबिन गर्नुपर्ने माग गरिन् । उनले भनिन्,‘मानव अधिकारकर्मीहरुले जिउँदा निर्मला बम दिदि बहिनीलाई न्याय दिनुपर्छ ।’

यस्तो छ बम दिदी बहिनी र आमाको नाममा जारी गरिएको प्रेस विज्ञप्ती

म महेन्द्रनगर भीमदत्त न.पा. वडा नम्बर १८ निवासी १४ वर्षीया रोशनी बम हुँ । स्कूलमा कक्षा ९ मा मसँगै अध्यनरत मेरी साथी निर्मला पन्तको हत्या भएछ । उनको शब २०७५ साल साउन ११ गते भेटिनु भन्दा अघिल्लो दिन साउन १० गते निर्मला मेरो घरमा आएर मसँगै हामवर्क गरिन् । अनि अन्दाजी सवा २ बजे तिर मेरो घरबाट फर्केकी थिइन् । सवा ११ बजे मेरो घरमा आएकी निर्मला अन्दाजी सवा २ बजे फर्केकी थिइन् । निर्मला फर्केपछि मेरो छिमेकमा बस्ने देवकी भट्टकी छोरी ८ वर्षीया बालिका कृतिका भट्ट मेरो घरमा आएकी थिइन् । उनी मेरो घरमा टिभीमा बजेको गितमा नाच्दै बसेकी थिइन् । निर्मला निस्केपछि म लामो समय कृतिकालाई खेलाएरै बसेकी थिएँ । मेरी दिदी बविता भने स्नातक तहको परीक्षा तयारीका लागि साँझको ट्युसन पढ्न गएकी थिइन् । यसरी साँझसम्मै कृतिका मेरै घरमा रहेपछि कृतिकाकी आमा देवकी भट्ट कृतिकालाई लिन अन्दाजी साँझ ७ बजेतिर आउनुभयो । उहाँ पनि एकछिन् कृतिका नाचेको हेरेर बस्नुभयो । त्यसैबेला मेरी दिदी बविता पनि ट्युसन पढेर आइ पुगिन् । कृतिकाकी आमा आउनु भन्दा अगाडि बाटोको छेउमा रहेको अम्बाको रुखमा अम्बा खान छिमेकी देवकी बम, राजमति पाल, विमला भट्ट पनि मेरो घरमा आएर फर्किनु भएको थियो ।

त्यो बेला कृतिकाकी आमा देवकी भट्ट र म मेरो घरको माथ्लो तलामा कृतिको नाचेको हेरेर बसिरहेका थियौं । दिदी पनि ट्युसनबाट आइ र देवकी दिदीको छेउमा बसेर कृतिका नाचेको हेर्न थाली । त्यहि बेला निर्मलाकी आमा दुर्गादेवी पन्त आउनु भयो । उहाँले गेट बाहिरबाटै भन्नुभयो–रोशनी तँ पनि बाहिर निस्की, निर्मलालाई पनि बाहिर निकाल् । यति बेला भइसक्यो निर्मला घर आएकी छैन । उहाँको आवाज सुनेपछि हामी सबै एकै पटक बरण्डामा निस्कियौ । मैले भनेँ– आन्टी निर्मला दिउसै यहाँबाट गइसकी । उहाँले भन्नुभयो– म १ बजे बनवासाबाट आएकी हुँ । अहिलेसम्म निर्मला घर पुगेकी छैन । अनि मैले फेरि भनेँ– आन्टी होमवर्क गरेर, मैले चटपटेको पैसा पनि दिएर दुईढाई बजे नै अम्बासम्बा लिएर निर्मला यहाँबाट गइसकी । उहाँले फेरि भन्नुभयो– अहिलेसम्म निर्मला घर पुगेकी छैन, केही भयो भने तेरो जिम्मा । यति भन्दै उहाँले औंला ठड्याउनु भयो । यतिबेलै कृतिकाको आमाले मलाई उनी को हुन् भनेर सोध्नुभयो । मैले मेरो साथीको आमा हो, दिउसो यहाँ साथी आएकी थिइन्, घर पुगेकी छैनन् भन्दै हुनुहुन्छ भनेँ । निर्मलाकी आमाले धम्काएको सुनेपछि दिदीले भनिन्– आन्टी निर्मला दिउसै यहाँबाट गइसकिन्, तपाईंकी छोरी यहाँबाट गइसकेपछि कसरी हाम्रो जिम्मा हुन्छ ? बाटोबाटै पोइला गएको हो कि हामीलाई के थाहा ? निर्मलाकी आमा फर्केर जानुभयो र कृतिकालाई लिएर कृतिकाकी आमा पनि जानुभयो ।

दोस्रो पटक अन्दाजी साँझको साढे ८ बजे एकजना अंकललाई लिएर निर्मलाकी आमा फेरि आउनु भयो । मैले उहाँलाई निर्मला भेटिए नभेटिएको सोधेँ । उहाँले निर्मला नभेटिएको वताउनुभयो । अनि सँगै आएका अंकलले निर्मला कतिवेला आएको, कस्तो लुगा लगाएर आएको, कतिबजे गएको भनेर सोध्नुभयो । मैले सवै विवरण वताइदिएँ । मैले त्यसबेलै निर्मलाकी आमालाई भनेँ– केही शंका छ भने आउनुस् आन्टी हाम्रो घरमा सवैतिर हेर्नुस् । उहाँले ‘के हेरौं, मेरी छोरीलाई लुकाएको भए तेरो पनि भविश्य छ कति भलो होला’ भन्ने चेतावनी दिंदै बाहिरबाटै फर्किनुभयो ।

त्यस दिन भएको मोटामोटी घटना यत्ति हो ।

दोस्रो दिन बिहान पहिले प्रहरी आएर सोधपुछ गर्योे, त्यसपछि निर्मलाकी आमा आउनुभयो । उहाँहरुले मेरो घरको भित्रैसम्म गएर हेर्नुभयो र फर्किनु भयो । उहाँसँग ४÷५ जना सँगै हुनुहुन्थ्यो । त्यसपछि सादा पोशाकमा प्रहरी आए र मेरो घर खानतलासी गरे । फेरि निर्मलाकी आमा १४÷१५ जनाको समुह लिएर आउनु भयो । त्यसबेला म घरमा एक्लै थिएँ । त्यसबेला आएको समुहका एकजना अंकलले मलाई ठुलो स्वरमा सोध्नुभयो– तिमीले निर्मलालाई किन लिएर आयौ? मैले भनेँ– मैले ल्याएको होइन, निर्मला आफैं आएकी हो । उहाँले फेरि दवाव दिदैं भन्नुभयो– तिमी मैले ल्याएको हुँ भनेर स्वीकार गर, नत्र राम्रो हुँदैन । त्यसबेला म एक्लै थिएँ, त्यस अंकलले यसरी गाली गरे पछि म रोए। त्यहाँ हल्लाखल्ला भएपछि मेरा छिमेकी पनि आए । उनीहरुले यो बच्ची हो यसलाई हप्काइदप्काइ गरेर नसोध्नु भने । त्यसबेला कलेजबाट दिदी पनि आइपुगिन् । दिदीले निर्मलालाई रोशनीले लिएर आएको होइन, ऊ आफैं आएकी हो, किन हप्कीदप्की गर्नुहुन्छ भन्दा ती अंकलले तिमी बीचमा नबोल, बोलेमा चुल्ठो समातेर जिप्रका लैजान्छु भने ।

त्यसको भोलिपल्ट प्रहरीले मलाई र दिदीलाई अनुसन्धानका लागि भन्दै पक्राउ गर्यो । दुई पटक गरी म ७ दिन र दिदी २० दिन हिरासतमा बस्यौं । प्रहरीले हामीमाथि अनेक तरहले अनुसन्धान गर्यो । कतिपय बेला आरोप स्वीकार गर्न शारीरिक र मानसिक यातना समेत दियो । हामीले झुटो बोलेको हो कि हैन भनेर प्रहरीले हामीलाई मेसिन लगाएर समेत बयान लियो । हाम्रो मोवाइलको कल डिटेल पनि चेक भयो, एक महिनासम्म दिदीको मोवाइल प्रहरीको नियन्त्रणमै थियो । तर, कुनै पनि कोणबाट घटनामा हाम्रो संलग्नता पुष्टि नभएपछि प्रहरीले छोड्यो । प्रहरीले घटनामा हाम्रो संलग्नता पुष्टि हुने कुनै तथ्य फेला नपरेको भन्दै हामीलाई छोडे पनि समाज, राष्ट्रिय मिडिया र सामाजिक संजाल ले हामीलाई अपराधीको रुपमा चित्रित गर्न छोडेनन । यसको कारण कञ्चनपुरबाट प्रकाशित भएको मानसखण्ड दैनिक रहेछ जसले हामीलाई बारम्बार अपराधी भनी झुठो प्रचार गरिरह्र्यो । कञ्चनपुरमा हुँदा हामी एक प्रकारको नजरबन्दको अवस्थामा रहेको हुनाले त्यस समयमा मानसखण्डको यावत कर्तुत हरु थाहा पाउन सकेनौं । आज मानसखण्डका पुराना अंकहरु पल्टाएर हर्दा उक्त दैनिक र त्यसका सम्पादक हामीलाई फसाउन र कसैलाइ जोगाउन आप्mनो पुरै शक्ति लगाईरहेका थिए भन्ने हामीलाई आशंका छ। उनले कसलाई जोगाउन यस्ता कोपोल्पित कथ्य सहित यस्ता भ्रामक समाचार बनाए यसको छानबिन गरि सत्यतत्थ्य बाहिर ल्याइ दिन हामी मुलधारका मिडिया, पत्रकारहरुसंग आग्रह गर्दछौं।

मानसखण्डले सधै ‘स्थानीयका अनुसार’ भन्दै समाचार लेख्ने तर कहिल्यै स्थानीयलाई नभेट्ने रहेछन। मेरा छिमेकीहरुसंग कुरै नबुझी, मलाई र मेरा परिवारका सदस्यलाई भेट्दै नभेटी काल्पनिक कथा बारम्बार प्रकाशित गरे पछि मेरा छिमेकीहरु मिलेर त्यस पत्रिकाका सम्पादकलाई फोन गरेर यहाँको वास्तविक स्थिति नबुझी उल्टो समाचार नछाप्न र घर टोलमै आएर बुझि समाचार छाप्न आग्रह गरेका रहेछन । तर, उनले अहिले आफूलाई फुर्सद नभएको र घटना शान्त भएपछि आउँछु भनेर झर्किएका रहेछन । उक्त प्रत्रिकाबाटै आएका यस्ता भ्रामक समाचारलाई अन्य राष्ट्रिय सञ्चार माध्यमले पनि आधार बनाए र हामीलाई दोषी बनाएका रहेछन ।

हाम्रो घरबाट साउन १० गते निर्मला पन्त हिंडेको केहि समय पछि नै निर्मलाको साइकल देखेको धना भण्डारी, उहाँका जेठानी र छोरा सन्दिप भण्डारीले प्रहरीसँगको वयानमै वताएका छन् । उनीहरुले निर्मला हाम्रो घरबाट साइकलमा निस्केको २ घन्टापछि नै देखेका छन् भने निर्मला हाम्रो घरबाट कसरी हराएको भन्न मिल्छ ? यो तथ्यल बाहिर किन आएन ? भोलिपल्ट जुन ठाउँमा निर्मलाको शब भेटिएको थियो, त्यहि ठाउँ नजिक अघिल्लै दिन निर्मलाको साइकल भेटिनुले उनी हाम्रो घरबाट गइसकेको पुष्टि हुँदैन र ? तर, यो तथ्यलाई सञ्चार माध्यमले कहिल्यै छापेन । मेरो घरबाट निर्मला हराएको प्रचार गरिरहे । उनिहरुले यस्तो किन गरे खोजिदिन सबै समक्ष अनुरोध गर्दछु ।

प्रहरी अनुसन्धानले हामीलाई दोषि सावित गरि नसकेको अवस्थामा असोज महिना तिर नेपाल मानव अधिकार संगठनको नामबाट हाम्रो चरित्रहत्या गर्ने गरी र हामीलाई त्यस हत्याको मतियार भन्दै उक्त संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्याल, संस्थाका महासचिव महामुनीश्वर आचार्य र कञ्चनपुर जिल्ला अध्यक्ष त्रिभुवन भट्टले प्रतिवेदन सार्वजनिक गरे । उनीहरुले निर्मला हाम्रो घरमा आएको र हाम्रो घरबाट गएको विषयमा न हामीसँग एक वचन सोधे, न हामीलाई भेटे, न हाम्रा छिमेकीहरुलाई नै सोधे यसलाई कसरी प्रमाणित गर्छन् ? मेरी दिदी अहिलेसम्म त्यो होटेलमा गए नगएको उनीहरुले बुझ्न समेत चाहेनन् ।

उनीहरुले मेरी दिदी बवितालाई अपेरा होटेलको डान्सर भएको उल्लेख गरेको, दिदीले निर्मला र अर्की एक किशोरीलाई डान्सर बनाउन उनीहरुलाई एकएक जोर कपडा दिएको समेत भनेर उल्लेख गरेका छन् । हाम्रो घरमा भीआइपीहरुको आउ जाउ भएको, हामी दिदीबहिनीले घरमा यौन धन्दा चलाउने गरेको भन्ने प्रतिवेदनमा उल्लेख गरेका छन । निर्मलाको त निधन भयो, दिदीले डान्सर बनाउन कपडा किनी दिएको भनिएकी किशोरी किन सार्वजनिक गर्दैनन् ? १० गते राती मेरो छिमेकीमा भैंसी ब्याएको, त्यहाँ मान्छे भेला भएको र लास लास भन्ने हल्ला सुनिएको, भोलिपल्ट बिहान ४ बजे हाम्रो घरमा टुकटुके ट्याम्पो आएको र मेरी दिदी बविताले ‘साइकल भएको ठाउँमा लास छ’ भनेको भन्दै झुठो प्रतिवेदन उक्त संगठनले किन सार्वजनिक गर्यो ? साथै घटना भएको दिन हामी ओपेरा होटेलमा गएको र वर्थडे पार्टी खाएको समेत उल्लेख गरेका छन् । अर्यालले सार्वजनिक गरेको प्रतिवेदनमा दावी गरेका एउटा मात्र कुरा पनि पुष्टि गर्न हामी सार्वजनिक चुनौति दिन्छौं ।

आफ्नो प्रतिवेदनमा दावी गरेको कुरालाई सार्वजनिक रुपमा पुष्टि गर्नु पर्ने नेपाल मानव अधिकार संगठन र यसका पदाधिकारी इन्द्र अर्याल, महामुनिश्वर आचार्य र त्रिभुवन भट्टको दायित्व हो । उनीहरुको प्रतिवेदन सार्वजनिक भएपछि हामी वहिष्कृत, अपमानित र नारकीय सामाजिक जीवन विताउन वाध्य भएका छौं । हाम्रो पढाई छुटेको छ, सामाजिक वेइज्जति भएको छ । आफन्त र विद्यालयका साथीहरु हामीलाई अपराधी र अनैतिक चरित्रका मानिसका रुपमा हेर्ने गर्न थालेको छन। उक्त झुटो प्रतिवदेनले गर्दा हाम्रो व्यक्तिगत जीवनमा पारेको क्षतिको क्षतिपूर्ति हुनुपर्छ । उनीहरुको प्रतिवेदनले गर्दा हामीमाथी परेको शारिरिक, मानसिक र सामाजिक क्षतिको क्षति पूर्ति दिलाइ दिन आम सञ्चार माध्यम, पत्रकार दाजुदिदी, मानव अधिकारकर्मी, महिला अधिकारकर्मी र बालअधिकारकर्मीहरु समक्ष हार्दीक अनुरोध गर्दछु ।

यतिबेला मलाई एकातिर आफ्नो साथी गुमाउँदाको पीडा छ भने, अर्कोतर्फ म र मेरो परिवारका सदस्य सामाजिक रुपमा वहिष्कृत, अपमानित र नारकीय जीवन विताउन वाध्य भएका छौं । म र मेरो परिवारका सदस्य घर बाहिर जाने अवस्था छैन, हामी आफ्नै घर भित्रै नजर बन्दको अवस्थामा छौं । प्रहरीको लामो अनुसन्धानले मलाई र मेरो परिवारका सदस्यलाई उक्त घटनामा अहिलेसम्म दोषी प्रमाणित गर्न सकेको छैन। यस्तो अवस्थामा केहि अधिकारकर्मी, सञ्चार माध्यमहरुले हामीलाई अपराधीको रुपमा चित्रण गरि रहेको छ । म अधिकारकर्मी र आम सन्चार माध्यमलाई मेरा छिमेकीहरुसँग पनि बुझी उक्त घटनाको बारेमा वास्तविकता बाहिर ल्याइ म, दिदी लगायत निर्मला समेतको न्याय लागि लडि दिनु म अपिल गर्दछु ।

​ बहिनी– रोशनी बम

​ दिदी– बबिता बम

​ आमा– इन्द्रा बम