इजरायलले नेपाली कामदारको कोटा बढाउने

इजरायलले नेपाली कामदारको कोटा बढाउने

काठमाडौँ । पछिल्लो समय वैदेशिक रोजगारको राम्रो गन्तव्य मानिएको इजरायलमा नेपाली कामदारको रोजगारी प्रदान गर्न इजरायल सरकार सकारात्मक भएको छ ।
नेपाली कामदार मिहेनती, इमान्दार र अनुशासित भएका कारण नेपाली कामदारको सङ्ख्या बढाउन इजरायल सरकार सकारात्मक भएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र इजरायलका राजदूत बेन्नी अमेरसँगको भेटमा नेपाली कामदारलाई थप रोजगारीको अवसर प्रदान गर्न इजरायल सरकार तयार रहेको बताए ।
कृषि, पर्यटन तथा रोजगारीको क्षेत्रमा सहयोग आदानप्रदान गर्ने पर्याप्त सम्भावना रहेको र नेपाली कामदार विशेष गरी ‘केयर गिभर’को सङ्ख्या थप गर्न सकेमा दुवै देश लाभान्वित हुने मन्त्री विष्टले बताए ।
सो भेटमा राजदूत अमेरले इजरायलबाट फर्की आएका युवाले इजरायली कृषि प्रविधिको प्रयोग गरी विभिन्न व्यवसाय सञ्चालन गरेका जानकारी पाउँदा आफू खुशी भएको बताए ।
घरेलु कामदारका रूपमा खाडी मुलुक पुगेका नेपालीले धेरै दुःख पाए पनि इजरायलमा केयर गिभरमा काम गर्ने नेपालीले शारीरिक तथा आर्थिक शोषणमा पर्नु पर्दैन । इजरायलले मुख्यगरी केयर गिभरमा नेपाल, फिलिपिन्स, श्रीलङ्का र भारतबाट महिला कामदार लैजाने गरेको छ ।