तस्कर र प्रहरीबीच गोली हानाहान, एकको मृत्यु

तस्कर र प्रहरीबीच गोली हानाहान, एकको मृत्यु

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा तस्कर र प्रहरीबीच गोली हानाहान भएको छ । गएराति साढे १२ बजे दोहोरो फायरिङको क्रममा प्रहरीको गोली लागेर एकको मृत्यु भएको छ । मृतकको पहिचान भने खुलेको छैन । उनको शव पोष्टमार्टमका लागि भीम अस्पताल रुपन्देहीमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सादा पोसाकमा खटिएका प्रहरीले तस्करलाई नियन्त्रणमा लिन खोज्दा मुठभेटका क्रममा प्रहरीको जवाफी फायरिङमा गोली लागेर घाइते भएका एक तस्करलाई भैरहवा मेडिकल कलेजले राति १ बजे मृत घोषणा गरेको थियो । एक तस्कर भने फरार भएका छन् ।

भारतीय मोटरसाईकल युपी ५३ एच २०२८ मा आएका तस्करहरुलाई सादा पोशाकका प्रहरीले रोक्न खोज्दा उनिहरुले प्रहरीमाथि नै गोली चलाएको प्रहरीले जनाएको छ । गस्तीमा खटिएका प्रहरी जवान कृष्ण श्रेष्ठको बायाँ हातमा गोली लागेको छ ।