चितवनको रत्ननगरमा पूर्वी क्षेत्र महोत्सव सुरु

चितवन . पूर्वी चितवनको रत्ननगरमा आज (शुक्रबार)बाट पूर्वी क्षेत्र महोत्सव सुरु भएको छ । रत्ननगर–४ शान्तिचोकको खुल्ला चौरमा सुरु भएको महोत्सव आगामी मंसिर ११ गते सम्म चल्नेछ ।
एन.एस.क्रियशन एण्ड इभेन्टस् प्रा.लि.र लायन्स क्लव अफ चितवन राइनो सिटीको संयुक्त आयोजनामा सुरु भएको महोत्सवको अवसरमा चितवनको रत्ननगर बजार सिंगारिएको छ । महोत्सव सुरु हुनु पूर्व रत्ननगर नगरपालिका परिसरबाट शोभा यात्रा निकालिएको थियो । शोभा यात्राले रत्ननगर बजार परिक्रमा गरी महोत्सव स्थलमा पुगेर औपचारिक कार्यक्रम सुरु भएको हो । महोत्सवको एक भव्य समरोहका बीच पूर्व अर्थमन्त्री एवंम चितवन क्षेत्र नम्वर १ का साँसद सुरेन्द्र पाण्डेले उद्घाटन गरेका थिए ।
महोत्सवमा व्यावसायिक प्रवद्र्धनका अतिरिक्त महोत्सवबाट भएको आम्दानीले क्लबले शव बहान खरीद गरी सञ्चालन गर्ने, पूर्वी क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरुका लागि पत्रकार संरक्षण कोष, लायन्स असहाय बाल कोष स्थापना गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको मुल समारोह समितिका संयोजक निरज श्रेष्ठले बताए । चितवनको कृषि र पर्यटनसंगै सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गरिएको संयोजक श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा ३०० वटा स्टल रहेको छ । स्थानीय व्यापार, उद्योग, कृषि, पर्यटन, धार्मिक क्षेत्रको प्रर्वद्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको हो । महोत्सव अवलोकन गर्नेहरुले रत्ननगर ११ जिरौना स्थित धर्मधाम घुम्न चाहेमा सो को समेत व्यवस्था मिलाइएको छ । महोत्सवको अवसरमा विभिन्न सामाजिक अभियान सञ्चालन गरी सामाजिक कार्यमा योगदान गरेका अभियन्ताहरुलाई सम्मान समेत गरिने लायन्स क्लब अफ राइनो सिटीका अध्यक्ष ओमलाल सापकोटाले जानकारी दिए ।