१९ नेपाली साउदीको सडकमै अलपत्र

१९ नेपाली साउदीको सडकमै अलपत्र

काठमाडौं। वैदेशिक रोजगारको लागि अक्सफोर्ड इन्टरनेशनल प्रालि म्यानपावरमार्फत साउदी पुगेका १९ जना नेपाली कामदार साउदीमा दुई महिनादेखि अलपत्र परेका छन्। अलपत्र पर्नेमा काभ्रे गोठपानीका ५ जना, मकवानपुर हेटौंडाका एक र नाम ठेगाना नखुेका १३ जना नेपाली कामदार रहेका छन्।

वैदेशिक रोजगार विभागमा साउदीमा अलपत्र पर्ने १९ जना मध्ये ६ जनाका आफन्त म्यानपावर कम्पनी विरुद्ध उजुरीका लागि आएका थिए। बाँकी अरु १३ जना अलपत्र पर्नेहरुका बारेमा विस्तृतमा जानकारी नआएको अलपत्र ६ जनाका आफन्तले बताएका छन्। नाम खुलेका अलपत्र पर्नेमा काभे्र घर भएका मिनप्रसाद ढुंगाना, सरोज चौलागाईं, धनप्रसाद चौलागाईँ, नेत्र ढुंगाना, विक्रम लामा र मकवानपुर घर भएका लालबहादुर वाइबा रहेका छन्।

उनीहरु फुड प्याकिङ कामको लागि साउदीको महराह एचआर कम्पनीमा गत फागुन २४ गते गएका थिए। रोजगारको लागि साउदी पुगेको ५ महिनासम्म उनीहरुका लागि सम्झौता अनुरुपको सेवा सुवाधा काम र तलब भएकोले सुरुका दिनमा राम्रोसँग काम गरिरहेका यिनीहरुलाई कम्पनीले होटल कामको लागि भन्दै कम्पनीबाट हटाएपछि काम नदिएर अलपत्र परेको उनीहरुका आफन्त बताउँछन्।

आफन्तका अनुसार उनीहरुले काम नपाएर दुई महिनादेखि सडकको पेटीमा बस्दै आएका छन्। १९ जना कामदारलाई खाना पकाउने, खाने, बस्नेसमेत सुविधा नहुँदा खुल्ला सडकपेटीमा नै बस्न बाध्य रहेको आफन्तको गुनासो छ। उनीहरु पहिले कार्यरत कम्पनीले होटल कामका लागि ट्रान्सफर गरेपछि होटलले पनि काम नदिँदा उनीहरु सडकमा अलपत्र परेका हुन्।

कामदारहरु आफू अलपत्र परेकोले फेरि पहिलेकै कम्पनीमा काम मिलाई दिन अनुरोध गर्दा ‘अब फेरि हाम्रो कम्पनीमा आइस भने लाश बनाएर पठाइदिन्छु भनेको छ रे’ भन्दै रुन्छिन् विभागमा भेटिएकी साउदीमा अलपत्र पर्ने मिनप्रसाद ढुंगानाकी श्रीमती मैया गौतम (ढुंगाना)।

मैयाले रुँदै भनिन्, ‘मलाई ४५ दिनको सुत्केरी मै छाडेर श्रीमान् १ लाख ऋण गरेर जानुभयो तर विदेशमा अलपत्र परेर दुख पाउनुभयो। अब जसरी पनि नेपाल झिकाउ नत्र हामी मर्छौं भन्नुहुन्छ। उताबाट यता म्यानपावरले हुन्छ, हुन्छ भन्ने कुरा मात्र गरेको दुई महिना भइसक्यो तर काम गरेन।’
मैया विभागमा पनि ९ महिनाको बच्चा च्यापेरै श्रीमानलाई नेपाल झिकाउने अनुरोध गर्न आएकी थिइन्, उनीसँगै अन्य ५ जना अलपत्र पर्नेहरुका आफन्तहरु पनि थिए।

विभाग धाउन थालेको २ महिना भइसक्दा पनि म्यानपावरले अलपत्रपरेकालाई रोजगारको व्यवस्था तथा उद्धारको काममा केही वास्ता नगरेपछि उनीहरुले म्यानपावर कम्पनीको कामकारबाही रोक्का गर्नका लागि विभागमा उजुरी दिएका छन्। म्यानपावरले भने अलपत्र परेकालाई अर्को काम मिलाइदिने भन्दै रोक्का भएको आफ्नो म्यानपावरको कामकारबाही फुकुवा गराउन दबाव दिएको उनीहरुले गुनासो गरे।

विदेशमा काम गर्ने र पैसा कमाउने सपना बोकेर गएका युवा काम नपाएर अलपत्र परेपछि उनीहरुका आफन्त निरास बनेका छन्। अझ काम नदिएर कम्पनीले लाश बनाएर पठाउने धम्की दिएपछि उनीहरु थप चिन्तामा छन्। नेपाल फर्कन उनीहरुसँग पैसा छैन। भन्छन्– अब विदेश जाँदा लागेको ऋण नै कसरी तिर्ने भन्ने चिन्ता छ। कसैले ऋण पत्याउने बाटो समेत छैन। म्यानपावरले भने वास्ता गर्दैन।’

विदेश गएर कमाएर ल्याउलान्, त्यसपछि सुखदुख जीवन गुजारा गरौँला भन्ने आशा बोकेका आफन्तहरुको आशा आँशुमा परिणत भएको छ।
म्यानपावर कम्पनी र रोजगारदाता कम्पनीको श्रम समझदारी पत्रमा भने कामदारको लागि २ वर्षको करार अवधि, खान, बस्न, यातायात जस्ता सुविधा दिने उल्लेख छ। श्रम समझदारी पत्रमा प्याकिङको काम हप्तामा ६ दिन, दिनमा ८ घण्टा र ओभरटाइमको समेत सुविधा छ। तलब मासिक ८ सय रियाल उल्लेख छ।

उक्त कम्पनीमा २ वर्षको करार अवधी भएपनि कामदारलाई ५ महिनासम्म काम दिएर अलपत्र पारेको आफन्त गुनासो गर्छन्। अब म्यानपावर कम्पनीले उनीहरुलाई तत्काल उद्धार गर्नुपर्ने आफन्तहरुको माग छ विभागले पनि म्यानपावर कम्पनीलाई अलपत्र परेका कामदारको उद्धार गर्न निर्देशन दिइसकेको बताएको छ।